खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १४ बुइपामा आगामी माघ ७ देखि ११ गतेसम्म आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। बुइपा–११ स्पोर्टस् क्लबको आयोजना तथा बुइपाका स्थानीयवासी प्रभुराम राई परिवारको प्रायोजनमा ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको हो।
बुइपास्थित यलम्बर रंगशालामा हुने प्रतियोगिताका विजेतालाई नगद रु. तीन लाख प्रदान गरिने आयोजकले मंगलबार दिक्तेलस्थित होटेल शुभदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। जिल्लाभित्रका ६ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबका खेलाडी सहभागी हुने प्रतियोगिताका उपविजेताले नगद रु. एक लाख ५१ हजार प्राप्त गर्नेछ।
सेमिफाइनलिस्ट दुई समूहलाई नगद रु. ५०–५० हजार प्रदान गरिनेछ। हरेक खेलमा म्यान अफ दी म्याच घोषणा गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद रु. २० हजार दिइने आयोजक क्बलका पूर्वसचिव ओमप्रकाश घिमिरेले जानकारी दिए। विधागत पुरस्कारमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत नगदसहित पुरस्कृत गरिनेछ। विधागत पुरस्कारको राशि १५–१५ हजार रुपैयाँ रहेको छ।
०६२ सालमा स्थापना भएको बुइपा– ११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राईको सम्मानमा परिवारका सदस्यहरूले गर्न लागेको आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा जिल्ला फुटबल संघ संरक्षक बसेको छ। तत्कालीन बुइपा गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च तथा पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका प्रभुरामको योगदानलाई कदर गर्दै उनको सम्मानमा परिवारका सदस्यहरूले आमन्त्रित पुरुष फुटबल प्रतियोगिता– २०८२ आयोजना गर्न लागेका हुन्।
खेल क्षेत्रको समग्र विकासमा लागेका ८२ वर्षीय बुबा प्रभुराम राईको सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको उनका जेठा छोरा दिनेश राईले बताए। प्रतियोगिता सम्पन्न गर्न रु. १७ लाख तीन हजार लाग्ने अनुमान गरिएको छ।