बर्दियाको बढैयाताल गाउँपालिका– ८ मा रहेको विद्याज्योति नमुना माध्यमिक विद्यालयले स्वर्ण उत्सवको अवसर पारेर ४२ लाख रुपैयाँ अक्षयकोष स्थापनाका लागि सहयोग संकलन गरेको छ ।
विद्यालयले अक्षयकोष स्थापनाका लागि पूर्वविद्यार्थी, अभिभावक, समाजसेवीलगायतका व्यक्तिहरूलाई आह्वान गरेको थियो। विद्यालयले गरेको आह्वानलाई स्वीकार गर्दै ३३ जना दाताबाट ४२ लाख रुपैयाँ अक्षयकोष स्थापनाका लागि सहयोग संकलन भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिए ।
उनले भने, ‘विद्यालयको स्वर्ण महोत्सवमा विद्यालयको भौतिक र आर्थिक सुधार गर्न सहयोगका लागि आह्वान गर्ने सरसल्लाह भयो। सोहीअनुसार काम गर्दै जाँदा अक्षयकोष स्थापनाका लागि ४२ लाख रुपैयाँ संकलन भएको छ। त्यसबाहेक विद्यालय हाताभित्र विद्याकी देवी सरस्वतीको मन्दिर सहयोगीदाताले निर्माण गरिदिनु भएको छ । त्यसबाहेक स्वर्णजयन्ती मनाउनका लागि १०६ जना सहयोगीदाताबाट १२ लाख रुपैयाँभन्दा बढी रकम सहयोग संकलन भएको छ ।’
अक्षयकोष स्थापनाका लागि सबैभन्दा बढी सहयोग विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी परिवारले गरेका छन् । विद्यालय परिवारले अक्षयकोषको लागि पाँच लाख पाँच रुपैयाँ अक्षयकोष स्थापना गर्न संकलन गरेको छ । त्यसबाहेक सबैभन्दा धेरै व्यक्तिगत रूपमा बढैयाताल गाउँपालिका– ८ पशुपति बजारका पूर्णबहादुर मगर र डण्डबहादुर मगरले बुबाको स्मृतिमा दुई लाख एक हजार १११ रुपैयाँकाे अक्षयकोष स्थापना गरेका छन् ।
सहयोगीदाताले आफ्नो परिवारको सदस्यको नाममा ३३ वटा अक्षयकोष स्थापना गरेकाे र अक्षयकोष स्थापना गर्ने अधिकांश बढैयाताल गाउँपालिकाकै रहेको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिए। उनले भने, ‘अक्षयकोष स्थापना गर्नेमध्ये अधिकांशले अक्षयकोषमा रकम थप्दै जाने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अक्षयकोषको रकम सहयोगीदाताको चाहनाअनुसार विद्यालय र विद्यार्थीको हकहितका लागि खर्च हुन्छ। विद्यालयमा सहयोग गर्ने सहयोगीदाता पूर्वविद्यार्थी हुन् ।’