भलिबलका पूर्वखेलाडीले काठमाडौंमा चलिरहेको नवौँ पुरुष तथा महिला भलिबल च्याम्पियनसिप (एनभिए)मा गण्डकी प्रदेश सहभागी नभएको कारण माग राख्दै आइतबार आन्दोलन गरेका छन् । उनीहरूले गण्डकी प्रदेश भलिबल संघको आर्थिक हिसाबकिताब सार्वजनिकलगायत विभिन्न सातबुँदे माग पनि राखेका छन् । आन्दोलनको नेतृत्व गण्डकी प्रदेश पुरुष भलिबल टोलीका पूर्वकप्तान हरि पाण्डेले गरेका छन् ।
उनले पोखरा रंगशालास्थित संघ र प्रदेश खेलकुद
परिषद्को कार्यालयको ढोकामा सातबुँदे माग लेखिएको पर्चा टाँस्दै आन्दोलन सुरु गरेका हुन् । पूर्वकप्तानसहित अन्य खेलकर्मीले कालो माक्स लगाएर संघको गतिविधिको सांकेतिक विरोधसमेत जनाएका छन् । काठमाडौंमा चलिरहेको नवौँ एनभिए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा प्रदेशको सहभागिता किन भएन र आर्थिक हिसाब सार्वजनिक गर्नुपर्ने मुख्य माग उनीहरूले राखेका छन् ।
‘एनभिए च्याम्पियनसिपमा सहभागी किन नभएको, प्रदेशका खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्ने, गण्डकी प्रदेश भलिबल संघले उमेर समूहको प्रतियोगिता आयोजना गर्नुपर्ने,’ सातबुँदे मागमा भनिएको छ, ‘सहयोगदाताको उचित सम्मान र व्यवस्थापन गर र भलिबल संघमा भलिबल क्षेत्रका अनुभवीलाई स्थान दिनुपर्छ ।’ पाण्डेलगायत अन्य खेलकर्मीले यी मागसहित प्रदेश खेलकुद परिषद्अगाडि केही समय उभिएर विरोधसमेत जनाएका थिए ।

‘संघले आर्थिक कारण गण्डकी प्रदेश एनभिए च्याम्पियनसिपमा सहभागी नभएको जानकारी दिएको छ, तर टाइगर कपका लागि आवश्यक बजेट पर्याप्त छ,’ पाण्डेले भने, ‘नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा भन्दा पनि टाइगर कपलाई प्राथमिकतामा राखेको देखिन्छ ।’ आन्दोलनमा सहभागी अन्य खेलकर्मीले संघका पदाधिकारी संघको गतिविधिभन्दा टाइगर समूहले सञ्चालन गर्ने गतिविधिमा केन्द्रित भएको आरोप लगाए । पाण्डेले संघमा कहिल्यै आर्थिक अभाव नभएको दाबी गरेका छन् । ‘यसअघि कहिल्यै आर्थिक अभाव भएको सुनेका थिएनौँ, यसपटक कसरी आर्थिक समस्या आयो ?’ उनले प्रश्न राखेका छन्, ‘राष्ट्रियस्तरको प्रतियोगितामा प्रदेशलाई सहभागी नगराउनु एकदमै गैरजिम्मेवार काम हो ।’
टाइगर कपलाई देखाउँदै सहभागी नभएको आरोप
प्रदेश भलिबल संघले नेपाल भलिबल संघलाई पठाएको पत्रमा आर्थिक भार पर्ने र छोटो समयमा व्यवस्थापन गर्न नसकेको कारण देखाउँदै एनभिए लिगमा सहभागी हुन नसकेको बताएको छ । संघका कार्यवाहक अध्यक्ष राजेन्द्र जिसी र महासचिव टहलसिंह थापाले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई पत्रमार्फत यी दुई कारण देखाउँदै एनभिए च्याम्पियनसिपमा भाग नलिने बताएका हुन् ।
‘परिषद्लाई समन्वय गरी सहभागिताका लागि आर्थिक व्यवस्थापनको बन्दोबस्त गरिदिन अनुरोध गर्दा खेलाडी पोसाक जर्सी मात्र उपलब्ध गराउन सक्ने अन्य नसक्ने जानकारी भएको उल्लेख छ,’ पत्रमा भनिएको छ, ‘एनभिएपछि पोखरामा छैटौँ टाइगर कप हुन गइरहेको र त्यसका लागि पनि आर्थिक बन्दोबस्त गरेर टिम व्यवस्थापन गर्नुपर्ने भएकाले एनभिए लिगमा सहभागिताका लागि पठाउन असमर्थ भएको जानकारी गराउँदछौँ,’ पत्रमा उल्लेख छ ।
यता आन्दोलनमा रहेका भलिबलका खेलकर्मीले भने टाइगर कपलाई प्राथमिकता दिएर काम गरेका कारण समस्या आएको दाबी गरेका छन् । ‘संघका पदाधिकारी नै टाइगर ग्रुपको काममा बढी खटिने र संघलाई बेवास्ता गरेकाले यो समस्या पैदा भएको हो,’ उनीहरूले भने, ‘संघका पदाधिकारी एवं सदस्यहरू अधिकांश टाइगर गु्रपमा आबद्ध छन् ।’