पाकिस्तानी खेलाडी फर्किने तयारीमा

बिहिबार, १२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • पिसिबीलाई प्रतिखेलाडी थप २५ हजार अमेरिकी डलर तिर्न फ्रेन्चाइज टोली तयार नभएपछि पाकिस्तानी खेलाडीको एनपिएल भविष्य अन्योल

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)को अडानका कारण पाकिस्तानी खेलाडीको नेपाल प्रिमियर लिग (एनपिएल)मा भविष्य अन्योलमा परेको छ । पिसिबीले एनपिएलमा आबद्ध प्रतिखेलाडीको थप २५ हजार अमेरिकी डलर माग राखेको छ । कर्णाली याक्सबाहेक अन्य टोली पिसिबीलाई थप रकम तिर्न तयार छैनन् । कर्णालीले पाकिस्तानका हुसेन तलातलाई जनकपुर बोल्ट्सविरुद्ध खेलाएको थियो ।

फ्रेन्चाइज टोलीले पाकिस्तानी खेलाडीलाई चर्को मूल्यमा अनुबन्ध गरेका थिए । यसकारण पिसिबीबाट खेलाडीले एनओसी प्राप्त गर्न सकेका छैनन् । एनओसी पत्र नहुँदा पाकिस्तान खेलाडी त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धामा उत्रिएका छैनन् । यसैबिच जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किने तयारीमा छन् । जनकपुरले पिसिबीसँग दुवै खेलाडीका लागि एनओसी पत्रका लागि इमेल गरेको थियो । तर, पिसिबीले त्यसको जवाफ नपठाएको जनकपुरको भनाइ छ ।

‘पिसिबीलाई इमेल गरेका छौँ । जवाफ नआए खेलाडी फर्कनेछन्,’ जनकपुरका सिइओ निरोज खतिवडाले भने । खतिवडाका अनुसार सम्भवतः यी दुवै पाकिस्तानी खेलाडी जनकपुरको आगामी खेलमा बेन्चमा समेत देखिनेछैनन् । इफ्तिखार र हुसेन मंगलबार कर्णालीविरुद्धको खेलमा बेन्चमा थिए ।

यसअघि कर्णालीमा आबद्ध पाकिस्तानका टी–२० आईका कप्तानसमेत रहेका साहिबजादा फरहान पनि एनपिएल नखेली सोमबार स्वदेश फर्किएका थिए । पिसिबीले उनलाई त्रिकोणात्मक एकदिवसीय सिरिजमा आबद्ध हुन निर्देशन दिएको थियो । यस अवस्थामा फ्रेन्चाइज टोलीमा असर पर्ने देखिन्छ ।

श्रीलंकाली र बंगलादेशी खेलाडीलाई अवसर
पाकिस्तानी खेलाडी घर फर्कने तयारीमा रहँदा एनपिएलमा श्रीलंका र बंगलादेशका खेलाडीले मौका पाइरहेका छन् । जनकपुरले इफ्तिखार र हुसेनको स्थानमा श्रीलंका र बंगलादेशका खेलाडीलाई प्रतिस्पर्धा गराउने भएको छ । पाकिस्तानी खेलाडी स्वदेश फर्कंदा फ्रेन्चाइज टोलीहरूको टिम ब्यालेन्स बिग्रने सम्भावना छ । उनीहरूले एनपिएलको तयारी गर्दा विदेशी र स्वदेशी खेलाडीको सन्तुलन बनाएका थिए ।

अनुबन्धित विदेशी खेलाडीलाई प्रतिस्पर्धा गराउन नसक्दा जनकपुर र कर्णालीले समेत वैकल्पिक खेलाडी खोज्न कठिनाइको सामना गरेका थिए । यसैबिच, श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिममा आबद्ध भएका छन् । ३० वर्षीय थरिन्दुले श्रीलंकाका लागि चार टी–२० आईमा ६ विकेट र ७७ रन बनाएका छन् । उनले घरेलु तथा टी–२० फर्म्याटमा ८८ खेलमा ९८ विकेट लिएका छन् । यसैगरी यस विधामा उनले ६३८ रन बनाएका छन् ।

उनी बायाँहाते ब्याट्सम्यान र अफ स्पिनर हुन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् । थरिन्दुले प्रथम श्रेणी क्रिकेटमा ८२ खेलमा ३७८ विकेट लिएका छन् । यस विधामा उनले एक हजार ९२३ रन बनाएका छन् । त्यस्तै, उनले लिस्ट ‘ए’मा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन् ।

सुझावित समाचार