पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण
पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं/ पोखरा एभेन्जर्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनायो।

पोखराका लागि अर्जुन घर्तीले अविजिति सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा चार चौका र १ छक्का हिर्काएका हुन्। उनी पहिलोपटक पोखराबाट खेलेका हुन्। दुईपटक कर्णालीबाट खेलेका अर्जुनलाई कर्णालीले रिटेन गरेको थिएन। 

ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए। ४ चौका र १ छक्का हिर्काएका हसनलाई दिनेश खरेलले कप्तान दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए।

कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाए। २ चौका प्रहार गरेका कुशललाई दीपेन्द्रले नै दिनेशबाट क्याच गराएका हुन्। बंगलादेशका चर्चित अलराउन्डर सकिव अल हसनले १६ बलमा १४ रनको योगदान गरे। यसबाहेक ओपनर दिनेश खरेलले ४, श्रीलंकाका ब्याटर सदिरा समराविक्रमाले ८ र धनञ्जय लक्षनले ११ रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन खर्चिए। यसबाहेक हेमन्त धामी, स्कट कुगुलेइन र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

कुलश भुर्तेलको कप्तानीमा रहेको पोखरा प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छ। टोली यसपटक प्लेअफ हुँदै उपाधि जित्ने रणनीतिमा छ। तर, प्रतियोगिताको इतिहासमा टोली अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन।

प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।

सुदूर दुईपटकको उपविजेता हो भने पोखरा अहिलेसम्म पोखरा प्लेअफमा पुग्न सकेको छैन। यसअघि भएका खेलमा लुम्बिनी, चितवन राइनोज र कर्णाली याक्स विजयी भइसकेका छन्।

सुझावित समाचार