कप्तान दीपेन्द्र चम्किँदा सुदूरपश्चिमको पहिलो जित

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेको ६६ रन साझेदारी मद्दतमा पोखरा एभेन्जर्सलाई ६ विकेटले गुमाउँदै तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिमले पहिलो जित निकालेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४६ रनको लक्ष्य दिएको थियो।

प्रत्युत्तरमा कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेबीच सानदार साझेदारी भएपछि सुदूरले सहज जित निकाल्यो। सुदूरले प्रतिस्पर्धात्मक लक्ष्य १६.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो। सुदूरको जितमा कप्तान दीपेन्द्रले ५१ रन बनाए। प्रतियोगिताको दोस्रो खेलमा जित निकालेसँगै सुदूरले महत्वपूर्ण दुई अंक जोडेको छ । यसअघि उद्घाटन खेलमा दुई पटकको उपविजेता सुदूर लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । यता, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने विजयी सुरुवात गर्ने लक्ष्यमा रहे पनि सफल भएन। टोली यसपटक प्लेअफ हुँदै उपाधि जित्ने रणनीतिमा छ।

तर, इतिहासमा टोली अहिलेसम्म प्लेअफ पुग्न सकेको छैन। यसअघि भएका खेलमा लुम्बिनी, चितवन राइनोज र कर्णाली याक्स विजयी भइसकेका छन्। सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रले अविजित सर्वाधिक ५१ रन बनाए। उनले ३६ बलमा चार चौका र दुई छक्का हिर्काएका हुन्। ईशान पाण्डे ३१ बलमा ३७ रन बनाएर आउट भए। समान २ चौका र छक्का हिर्काएका ईशानलाई मेहदी हसनले एलबिडब्लु धरापमा पारेका थिए। यसअघि ओपनर विनोद भण्डारी मात्र ४ रन बनाएर आउट भए पनि सैफ जैवले १५ रनको योगदान गरेका थिए ।

बंगलादेशका चर्चित अलराउन्डर सकिव अल हसनले २२ रन बनाएका ब्रान्डन म्याकमुलेनलाई आउट गरेपछि सुदूर दबाबमा आएको थियो । तर, कप्तान दीपेन्द्र र ईशानबिच राम्रो साझेदारी भयो । ६.३ ओभरमा सुदूरले तीन विकेट गुमाएर ५६ रन मात्रै जोडेको थियो । यसपछि दुई खेलाडीले १३.३ ओभरसम्म खेल्दै ६६ रनको साझेदारी गरेका थिए । यति वेलासम्म सुदूरले १३० रन बनाएको थियो । वेस्ट इन्डिजका सेरफन रुथफोर्डले अविजित ८ रन जोडे । यसअघि पहिलो इनिङ्समा पोखराको लागि अर्जुन घर्तीले अविजिति सर्वाधिक ४० रन बनाए । उनले २५ ओभरमा चार चौका र १ छक्का हिर्काएका हुन् । उनी पहिलोपटक पोखराबाट खेलेका हुन् । दुईपटक कर्णालीबाट खेलेका अर्जुनलाई कर्णालीले रिटेन गरेको थिएन । ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए । ४ चौका र १ छक्का हिर्काएका हसनलाई दिनेश खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका थिए । कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाएका हुन् । २ चौका प्रहार गरेको कुशललाई दीपेन्द्रले नै दिनेशबाट क्याच गराएका हुन् ।

बंगलादेशका चर्चित अलराउन्डर सकिव अल हसनले १६ बलमा १४ रनको योगदान गरेका थिए । यसबाहेक ओपनर दिनेश खरेलले ४, श्रीलंकाका ब्याटर सदिरा समराविक्रमाले ८ र धनञ्जय लक्षनले ११ रनको योगदान गरेका थिए । बलिङतर्फ सुदूरका अनिल खरेलले सर्वाधिक ३ विकेट लिएका थिए । उनले ३ ओभरमा २३ रन खर्चिए । यसबाहेक हेमन्त धामी, स्कट कुगुलेइन र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछ । प्रतियोगिताको पाँचौँ खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो १२ः३० बजे भिड्नेछन् । दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार