महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै कांग्रेस

क्रियाशील सदस्यता नटुंगिएका कारण कार्यतालिका प्रभावित भएपछि परिमार्जन गर्न लागिएको नेताहरूको भनाइ

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । क्रियाशील सदस्यता नटुंगिएका कारण कार्यतालिका प्रभावित भएपछि परिमार्जन गर्न लागिएको नेताहरूले बताएका छन् । ८ पुसभित्र क्रियाशील सदस्यताको विषय टुंगो लाग्नुपर्नेमा हालसम्म नटुंगिएकाले बाँकी कार्यतालिकासमेत प्रभावित अवस्थामा कसरी अर्को तालिका बनाउने भन्ने विषयमा छलफलकेन्द्रित भएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूले व्यावहारिक कार्यतालिका ल्याउन नेतृत्वलाई सुझाब दिएको उनले बताए । 

‘महाधिवेशनको कार्यतालिका अलिक अव्यावहारिक भयो भन्ने साथीहरूको गुनासो आयो । कार्यतालिकाअनुसार क्रियाशील सदस्यताको विषय ८ पुसभित्रै सक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि त्यो काम सम्पन्न भएको छैन । त्यसैले कार्यतालिका परिमार्जन गरेर जान बैठकमा सुझाब आएको छ । हामी परिमार्जित कार्यतालिकाअनुसार अघि बढ्छौँ,’ विश्वकर्माले भने । क्रियाशील सदस्यता नै प्रारम्भिक मतदाता भएकाले त्यसको टुंगो नलागेको अवस्थामा कसरी कार्यतालिका सार्वजनिक गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।

क्रियाशील सदस्यता टुंग्याएर १६ पुसमा वडा अधिवेशन गर्र्ने कार्यतालिका छ । १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । यस्तै, २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका छ । २२ पुसमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने तालिका छ । २३ र २४ पुसमा प्रदेश अधिवेशन र २६, २७ र २८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

२६–२८ पुसमा तोकिएको महाधिवेशन सारेर जानुपर्ने पक्षमा संस्थापन पक्ष देखिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छ । त्यहीकारण संशोधित कार्यतालिका सार्वजनिक हुन नसकेको एक नेताले बताए । महामन्त्रीद्वय थापा र शर्मा पक्षले तोकिएको समयमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जाने चेतावनी दिँदै आएका छन् । विशेष महाधिवेशन पक्षधरले कानुन व्यवसायीसँग छलफलसमेत 
गरेका छन् । 

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीका अनुसार अघिल्लो महाधिवेशनको भन्दा यसपटक धेरै सदस्यता नवीकरण भएको छ । ७५ प्रतिशत सदस्यता नवीकरण भइसकेको उनले बताए । व्यवस्थापन समितिले छुटेको क्रियाशील सदस्यता केन्द्रबाट सीधै नवीकरण गर्ने व्यवस्थासमेत मिलाएको छ । ‘तोकिएको समयमा महाधिवेशन नहुने भए हामीले रातदिन काम गरेको के अर्थ ?’ स्नेहीले प्रश्न गर्दै भने, ‘तोकिएको समयमै महाधिवेशन हुनुपर्छ भन्नेमा हामी छौँ । सोहीअनुसार हामीले काम गरिरहेका छौँ ।’ क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगिसकेको र केही जिल्लामा विवाद भएका कारणले मात्रै समस्या भएको उनको दाबी छ । 

क्रियाशील सदस्यताको विषयमा विवाद भएमा छानबिन गर्न सहमहामन्त्री महेन्द्र्र यादवको संयोजकत्वमा पाँच सदस्यीय सदस्यता छानबिन समिति बनाइएको छ । समितिमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक छन् । समितिले विवाद भएका सदस्यताको विषयमा छानबिन गरेर व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउनेछ । त्यसपछि क्रियाशील सदस्यताको अन्तिम नामावली व्यवस्थापन समितिले पार्टी नेतृत्वलाई बुझाउनेछ ।

विशेष महाधिवेशन पक्षधर कांग्रेस नेता मधु आचार्यले संस्थापन पक्षको महाधिवेशन गर्ने नियत नभएकाले समस्या भएको आरोप लगाएका छन् । उनले नियमित महाधिवेशन नभए २६–२८ पुसमै विशेष महाधिवेशन हुने दाबी गरे । विशेष महाधिवेशनमा १४औँ महाधिवेशनकै प्रतिनिधि सहभागी हुने र नेतृत्व चयन गर्ने उनको जिकिर छ । ‘अहिलेको नेतृत्व लिएर आमनिर्वाचनमा जान सम्भव छैन । त्यसैले नेतृत्व परिवर्तन अनिवार्य छ । नियमित नभए विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुको विकल्प छैन,’ घिमिरेले भने ।

कारबाही फिर्ता, घर फर्किन आह्वान
कांग्रेसले अनुशासनका कारबाहीमा परेकाहरूलाई माफी दिने र पार्टी परित्याग गरेकाहरूलाई घर फर्कन आह्वान गरेको छ । शनिबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुशासनका कारबाहीमा परेकाहरूलाई माफी दिने र पार्टी परित्याग गरेकाहरूलाई घर फर्कन आह्वान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकले आगामी २१ फागुनको निर्वाचनका लागि समानुपातिकतर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार पार्ने प्रक्रिया पनि प्रारम्भ भएको उनले बताए । 

‘बैठकले वर्तमान राजनीतिक अवस्था र आसन्न प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुसंगठित बनाउने र बृहत् एकता कायम गर्ने उद्देश्यले विगतका निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासनविपरीतका काम गर्नेहरूमाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी र मिनाहा गर्ने निर्णय भएको छ,’ उनले भने । कारबाही माफी र मिनाहा भएकाहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी नवीकरण गर्ने निर्णय बैठकले गरेको छ । विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ । त्यसरी फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

सुझावित समाचार