कांग्रेसमा केन्द्रीय महाधिवेशनको कार्यतालिका नजिकिँदै गर्दा फेरि महाधिवेशन विवाद चर्किएको छ । नियमित महाधिवेशन ‘नहुने’ निष्कर्षसहित विशेष महाधिवेशनको माग अघि बढेपछि पार्टीभित्रको आन्तरिक टकराव सतहमा आएको छ । लामो कसरतपछि पुस अन्तिम साताका लागि नियमित महाधिवेशन आह्वान गर्ने कांग्रेसको निर्णय थियो ।
केन्द्रीय महाधिवेशन हुन १५ दिन मात्र बाँकी रहँदा विशेष महाधिवेशनका पक्षधर नेताहरूले हस्ताक्षर अभियानसहित दबाब बढाएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको र केन्द्रीय समितिले निर्णय नगरे आफैँ आह्वान गर्ने संकेत दिएका छन् ।
जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले समयको चापका कारण वडा, क्षेत्र र केन्द्र गरी तीन तहका अधिवेशन गर्ने तथा यसबाट नयाँ नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्ताव संस्थापन पक्षका नेताले अस्वीकार गरेका छन् ।
यसपछि महामन्त्रीद्वय थापा र शर्मासहितले विधानअनुसार विशेष महाधिवेशनको माग उठाएका छन् । कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष कारण देखाएर माग गरेमा पार्टीले विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइएको मितिअनुसार २८ पुसमा विशेष महाधिवेशन गरिसक्नुपर्नेछ ।
हस्ताक्षर अभियानका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै लेखेको पत्रमा महामन्त्रीद्वयलाई बोधार्थ दिएका छन् । महामन्त्री थापाले उनीहरूको स्मरणपत्र बुझेका छन् । स्मरणपत्रमा २८ पुसभित्रै विशेष महाधिवेशनका लागि मिति र स्थान तोक्ने निर्णय गर्न माग गरिएको छ ।
महामन्त्री थापाले जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्मरणपत्रबारे जानकारी गराउने बताएका छन् । साथै उनले विधानअनुसार विशेष महाधिवेशनमा जानैपर्ने स्पष्ट गरे । ‘पार्टीका ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको माग गरेमा त्यसलाई आह्वान गर्नुपर्छ । यो कुनै ऐच्छिक विषय होइन,’ उनले भने, ‘विशेष महाधिवेशन पुस मसान्तभित्रै गर्नुपर्ने जिम्मेवारी अब पार्टीको केन्द्रीय कार्यसमितिकै काँधमा आएको छ । यो हाम्रा लागि पनि अब विकल्पको विषय रहेन किनभने पहिला नै महाधिवेशन गरिसक्नुपर्दथ्यो ।’
महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउने दाबी
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरेले संस्थापन पक्षले नियमित महाधिवेशनका लागि इमान्दार प्रयास र नियत दुवै नराखेको आरोप लगाए । उनले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरे । साथै उनले २६–२८ पुसमा विशेष महाधिवेशन हुने, अहिलेकै महाधिवेशन प्रतिनिधि सहभागी हुने र उनीहरूले नयाँ नेतृत्व चुन्नेसमेत दाबी गरे । ‘अब अहिलेकै कार्यतालिकाबाट नियमित महाधिवेशन सम्भव छैन,’ घिमिरेले भने, ‘केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्छ । यदि यो सम्भव हुँदैन भने महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्नुहुुन्छ ।’