सुर्खेत विमानस्थलपरिसरभित्र मानवीय सहायता तथा विपत् उद्धार पोखरी निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो । सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका घटनामा हेलिकाेप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपत् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ यसको अर्थ हेलिकाेप्टरमा झुन्ड्याइने विशेष बाल्टिन हो । जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ । पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने उपसचिव गौतमले बताए । ‘नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रहेको छ,’ उनले भने, ‘विमानस्थलभित्र मानवीय सहायताका हिसाबले पोखरी नेपालकै पहिलो हो ।’
पोखरी निर्माणपश्चात् प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्तरण गर्ने उनले बताए। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पोखरी निर्माणको शुभारम्भ कार्यक्रममा बोल्दै विपतका घटना अकस्मात् हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए। उनले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रतिदिन बढिरहेकोले हेलिकाेप्टरसहित दमकलबाट समेत अग्नि नियन्त्रणमा पोखरी निर्माणले सहज हुने बताए ।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपत् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपत् न्यूनीकरणमा सबैको सामूहिक प्रयासको आवश्यक रहेको बताए ।