कांग्रेसले आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीबारे सैद्धान्तिक छलफल सुरु गरेको छ । निर्वाचन आयोगमा सूची बुझाउने समय तीन दिन बाँकी रहँदा कांग्रेसमा उम्मेदवारको मापदण्डका विषयमा बिहीबारदेखि छलफल सुरु भएको हो । शुक्रबार व्यक्तिका विषयमा छलफल सुरु हुनेछ ।
‘बिहीबार समानुपातिक उम्मेदवार छनोटका सन्दर्भमा सैद्धान्तिक विषयमा छलफल गर्यौँ । यो भनेको उम्मेदवार कस्ता छनोट गर्ने भन्ने मापदण्डलगायत हो,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘शुक्रबारदेखि व्यक्तिका विषयमा छलफल हुन्छ र टुंग्याउने सहमति भएको छ ।’ पार्टीमा लामो समयदेखि योगदान दिँदै आएका, तर अवसर नपाएका, अहिले राम्रो कार्य गर्न सक्ने, बुद्धिजीवी तथा नयाँ पुस्तालगायतलाई समेट्नुपर्नेमा छलफल भएको छ । ‘सबै क्षेत्र, उमेर समूह र ७७ जिल्ला (भूगोल)को प्रतिनिधित्व हुने गरी उम्मेदवार तय गर्छौँ,’ महतले भने ।
बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी, ज्ञानेन्द्र कार्कीलगायतले बोलेका थिए । बैठकमा महामन्त्री थापा र शर्माले वडा, क्षेत्र र केन्द्रको महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुनुपर्ने र आसन्न निर्वाचनमा जानुपर्नेमा पुन: जोड दिएका थिए । उपसभापति धनराज गुरुङ र ज्ञानेन्द्रबहादुर कार्कीले क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशनबारे निर्णय गर्नुपर्नेमा जोड दिएका थिए ।
संस्थापन र इतर पक्षका नेताहरूबिच बैठकमा भनाभन पनि भएको थियो । एक नेताका अुनसार महामन्त्री थापाको सभापति शेरबहादुर देउवाले नाममा मात्रै कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको टिप्पणीबारे इतर पक्षका नेताले आपत्ति जनाएका थिए । उनीहरूले सर्वसम्मतिका आधारमा महाधिवेशनको कार्यतालिका पारित भएको उल्लेख गर्दै यसलाई सफल बनाउन महामन्त्रीले भूमिका नखेलेको टिप्पणी गरेका थिए ।
अर्का महामन्त्री शर्माले अहिलेकै अवस्थामा निर्वाचनमा जानुपरेमा एमाले दोस्रो र कांग्रेस चौथो हुने विश्लेषण गरेका थिए । यसमा संस्थापन पक्षका नेताले प्रतिवाद गर्दै भनेका थिए, ‘जेन–जी आन्दोलनको प्रहार कांग्रेसमाथि भएको होइन, एमाले र ओलीमाथि भएको हो । कसरी कांग्रेस चौथो र एमाले दोस्रो हुन्छ ? पार्टी र नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने नेताहरूले निन्दा गर्दै हिँडेपछि पार्टीको हित कहाँबाट हुन्छ ?’
कांग्रेसको ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण
कांग्रेसको हालसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भएको छ । जनसम्पर्क समिति र विवाद भएका केही जिल्लाबाहेक ७५ प्रतिशत नवीकरण भएको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए । ‘केही जिल्लामा विवाद छ । अहिलेसम्म ७५ प्रतिशत क्रियाशील सदस्यता नवीकरणको काम भयो । यसमा जनसम्पर्क समिति र विवाद देखिएका जिल्लाको जोडिएको छैन,’ स्नेहीले भने ।
१४औँ महाधिवेशनमा आठ लाख ८३ हजार सदस्य थिए । महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नियमित काम गरिरहेको छ । १४औँ महाधिवेशनमा ७२ प्रतिशत क्रियाशील सदस्यले नवीकरण गरेका थिए ।
कांग्रेसले अन्य राष्ट्रिय दल छाडेर आएकालाई पनि क्रियाशील सदस्यता दिएको छ । जसपा संसदीय दलको नेता, लुम्बिनी प्रदेशका अध्यक्षसहित कांग्रेस प्रवेश गरेकाले कपिलवस्तु १ मा ६७५ नवीकरण फाराम उपलब्ध गराउने निर्णय पनि भएको छ । छुटपुट रहेकाले केन्द्रबाट नवीकरण गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
१४औँ महाधिवेशनका वेला १५औँ महाधिवेशनमा भाग लिने गरी निर्णय भएअनुसार क्रियाशीलको फाराम दिने निर्णय पनि व्यवस्थापन समितिले गरेको स्नेहीले बताए । ‘सुर्खेत, काठमाडौं ६ र पर्सा ३ मा क्रियाशील फाराम दिने निर्णय भएको छ,’ उनले भने ।