संखुवासभाको ७६ वटै वडामा पुग्यो फोरजी सेवा

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

संखुवासभाको ७६ वटै वडामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको छ। पाँच नगरपालिका र पाँच गाउँपालिका रहेको संखुवासभाका सबै वडामा फोरजी सेवाको पहुँच विस्तार भएको हो।

जिल्लाकै दुर्गम र विकट मानिएको चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–१ किमाथांका गाउँको समुन्द्री सतहबाट ३७ सय मिटरमा रहेको सिमबोक्प डाँडाबाट फोरजी सेवा विस्तार गरी संचालनमा आएपछि संखुवासभाको सबै ठाउँमा सेवा विस्तार भएको हो। 

सदरमुकाम खाँदबारीदेखि १६२ किमी उत्तरमा रहेको विकट किमाथांका नाकामा बुधबारदेखि फोरजी सेवा संचालनमा आएको नेपाल टेलिकम कार्यालय खाँदबारीका कार्यालय प्रमुख प्रेमकुमार राईले बताए। भौगोलिक कारणले टावर नटिप्ने केही ठाउँहरुको पहिचान गरी पहुँच विस्तार गरिने योजना रहेको पनि राईले जानकारी दिए।

फोरजी सेवा विस्तार भएपछि निर्धक्कसँग नेपाल टेलिकमको डाटा खरिद गरेर भिडियो कल गरेर कुराकानी गर्न सकिने राईको भनाइ छ। ‘यसअघि संखुवासभाको धेरै ठाउँमा टुजी सेवा मात्रै थियो, टुजीबाट डाटा खरिद गरेर भ्वाइस कलमा मात्रै कुराकानी गर्न सकिन्थ्यो, फोरजी सेवा विस्तार भएपछि भिडियो कलमा नै कुरा गर्न सकिन्छ,’ राईले भने।

जिल्लामा हालसम्म जिएसएम र सिडिएमए गरी २५ वटा बिटिएस टावर संचालनमा छ। त्यसमध्ये भोटखोला गाउँपालिकाको माक्पालुङ डाँडा, सभापोखरी गाउँपालिकाको साउनेडाँडा र चैनपुर नगरपालिकाको चौकी मंगलबारेमा रहेको टावर सोलारबाट संचालित छ। अन्य ठाउँका टावरहरु स्थानीय हाइड्रोपावर र कतिपयमा केन्द्रीय विद्युत प्रशारणलाइनबाट संचालन भइरहेका छन्।

जिल्लामा उच्च गतिको अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा (एफटिटिएच)समेत संचालनमा रहेको टेलिकम कार्यालयले जनाएको छ।

सुझावित समाचार