जिल्ला प्रशासन कार्यालय महोत्तरीअन्तर्गतको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कार्यालय सहयोगी कृष्ण मण्डललाई सरकारी कागजात किर्ते मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । रामगोपालपुर नगरपालिका–५ निवासी २८ वर्षीय मण्डल लामो समयदेखि इलाका प्रशासन कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए।
जिल्ला प्रशासन कार्यालयले उनीमाथि नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अगाडि बढाउन पत्र पठाएपछि सोही आधारमा प्रहरीले २९ मंसिरमा पक्राउ गरेको हो।
महोत्तरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ०७६ सालमा मण्डलले कुनै व्यक्तिको नागरिकता किर्ते गरी बनाइदिएको भनी जिल्ला प्रशासन कार्यालयमा गत ३० असोजमा उजुरी परेको थियो। सोही उजुरीमाथि छानबिन हुँदा मण्डलको भूमिका शंकास्पद देखिएपछि उनीमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीलाई पत्र पठाएको उनले बताए।
जिल्ला प्रशासन कार्यालयको अनुसन्धनको क्रममा उनीसँग नौ थान नक्कली नागरिकता नै फेला परेको र थप अनुसन्धान हुँदै जाँदा अरू नागरिकताहरू बनाइएको हुन सक्ने भएकोले मुद्दा प्रक्रियाका लगि अनुसन्धान अघि बढाएको प्रजिअ यादवले बताए। उनले ३५ वा सोभन्दा बढी नागरिकता किर्ते गरेको आशंका छ।
कार्यालयसँग हुने हार्डकपी रजिस्टरमा नागरिकताहरूको लिखित भेटिए पनि नागरिकता वितरण भएको समयमा नागरिकतामा हस्ताक्षर गर्ने अधिकारीको हस्ताक्षरसँग रजिस्टरमा गरिएको हस्ताक्षर मेल नखाएकोले थप आशंका उत्पन्न भई पूर्ण छानबिनमा ल्याएको प्रजिअ यादवको भनाइ छ।
आरोपी मण्डलले नागरिकता बनाउन कार्यालयको कागजात, सरकारी छाप, किर्ते हस्ताक्षर र होलोग्रामको समेत दुरुपयोग गरेको आरोप छ।
स्थानीयहरूले मण्डलले बनाएका प्राय सबै नागरिकताहरू भारतीय नागरिकलाई मोटो रकम लिएर बनाएको आरोप लगाएका छन्। प्रहरीले हालसम्म यस मुद्दामा अन्यको संलग्नता रहे/नरहेको अनुसन्धानको क्रममा खुल्दै जाने बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी शैलेन्द्रकुमार भट्टले नक्कली नागरिकता बनाउन गिरोह नै परिचालित भएको हो वा एक्लै आरोपी मण्डलले बनाएका हुन् भन्ने तत्काल भन्न नसकिने बताए।