नेपालले अन्तर्राष्ट्रियस्तरको आइस स्केटिङ प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको छ। भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ र अन्तर्राष्ट्रिय स्केटिङ महासंघसँगको सहकर्यमा हुन लागेको सर्ट ट्र्याक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालबाट २ महिला तथा ४ जना पुरुष खेलाडीले सहभागिता जनाउन लागेका हुन्।
नेपाल स्केटिङ तथा स्केट बोर्डिंङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता आगामी १२ देखि १४ पुससम्म भारतको देहेरादुनस्थित माहाराना प्रताप स्पोर्टस् कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा आयोजना हुनेछ। प्रतियोगितामा नेपालबाट सिनिअर पुरुषतर्फको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे, त्यस्तै जुनिअर महिलातर्फको ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे र पुरुष जुनिअर २५० मिटरमा जेभिअरजंग थापा र सायोन अर्यालले भाग लिनेछन्। त्यस्तै, उक्त प्रतियोगितामा टिम म्यानेजरका रूपमा सन्जु श्रेष्ठ तथा अफिसिएलमा संघका महासचिव सत्य थापाले सहभागिता जनाउनेछन्।