चिसोले सिराहाको जनजीवन प्रभावित, चोक–चोकमा दाउरा बाल्न सुरु

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

पछिल्लो सातादेखि बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएको छ। चिसोले सिराहाको लहानसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेपछि नगरपालिकाले चोकचोकमा दाउरा वितरण थालेको छ। चिसोबाट जोगिन लहान नगरपालिकाले मानिसहरूको बढी जमघट हुने ठाउँहरूमा आगो बाल्न दाउरा वितरण थालेको हो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार बिहानदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा वितरण गरी बाल्ने व्यवस्था थालेकाे बताए । उनले बुधबार बिहान करिब ७ बजेदेखि लहानको व्यस्त रहने मुख्य चोकहरू ग्रामीण चोक, राधाकृष्ण चोक, गणेश चोक, हनुमानस्थान, हुलाक चोक, पूर्व–पश्चिम बस स्ट्यान्डलगायतका ठाउँहरूमा दाउरा वितरण गरेपछि बाल्न थालिएको बताए ।

‘बढ्दो चिसोबाट सर्वसाधारण नगरवासीलाई जोगाउन तत्कालीन राहतअन्तर्गत बजार क्षेत्रका प्रमुख चोकहरूमा दाउरा वितरणसँगै बाल्न थालिएको छ,’ उनले भने, ‘बजार क्षेत्रसहित ग्रामीण भेगामा पर्ने वडा कार्यालयसँग समन्वय गरेर २४ वटै वडाका अति आवश्यक ठाउँहरूमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ।’ उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी पाँच सय परिवारलाई फाइबरको सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ। ‘चिसोको कारणले कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गरिरहेको छ,’ उनले भने। 

चिसो बढेसँगै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्। चिसो छल्न ग्रामीण भेगमा सर्वसाधारणहरू बिहान सबेरैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ। मौसममा आएको परिवर्तन र चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको पडरिया थारू टोलस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा विद्यालयमा नियमित उपस्थिति घट्दै गएको हो। 

विपत् व्यवस्थापनको बैठक बस्दै
त्यस्तै, चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखहरूसँग छलफल गरी तत्काल बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायतका आवश्यक निर्णय गरी कार्यान्वयनको तयारी गरिएको छ। 

लहानस्थित डिभिजन वन कार्यालयले पनि जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको जनाएको छ। कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बढ्दो चिसो र शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन्। 

See More On

सुझावित समाचार