महिनौँको रस्साकस्सीपछि पुसको अन्तिम साताका लागि तय कांग्रेसको १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नहुने लगभग निश्चित भएको छ । यससँगै कांग्रेसभित्र नयाँ कार्यतालिकासहितको महाधिवेशनको नयाँ मिति तोक्ने गृहकार्य सुरु भइसकेको छ । यससँगै कांग्रेसभित्र विशेष महाधिवेशनको मुद्दा पुनः ब्युँतिनेछ ।
विकसित राष्ट्रिय राजनीतिक अवस्था र आन्तरिक कार्यतालिका प्रभावित भएपछि २६–२८ पुसको महाधिवेशन रोकिने अवस्था बन्दै गएको हो । संस्थापन मात्रै होइन, डा. शेखर कोइराला पक्षले पनि पुसमा महाधिवेशन कठिन भएको प्रतिक्रिया दिएको छ । महामन्त्री गगन थापाले नियमित नभए विशेष महाधिवेशन हुने बताएका छन् ।
क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशन मिति धकेलिन सक्ने संस्थापन पक्षकै नेताको निष्कर्ष छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुस अन्त्यमा महाधिवेशन सम्भव नदेखिएको स्वीकार गर्दै चाँडै नयाँ कार्यतालिका सार्वजनिक हुन सक्ने बताए ।
‘२६–२८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता र नवीकरणको नामावली केन्द्रमा पठाउने म्याद ३ पुससम्म थियो । ५ पुसभित्र स्वीकृति दिनुपर्ने कार्यतालिका पनि प्रभावित भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा निर्धारित समयमा महाधिवेशन गर्न कठिन देखिन्छ, बैठक बसेर आवश्यक निर्णय लिन्छौँ । नयाँ कार्यतालिका आउन सक्छ ।’
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारीलगायतका नेताहरूसँग महाधिवेशनको तयारी र कार्यतालिकाबारे छलफल गरिसकेका छन् । तर, कार्यतालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । कार्यसम्पादन समिति बैठक बोलाएर कार्यतालिका हेरफेरबारे निर्णय गर्ने तयारी रहेको संस्थापन पक्षका एक नेताले बताए । महाधिवेशन वैशाखमा पुर्याउने रणनीति संस्थापन पक्षको छ । सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमै राखेका थिए ।
केन्द्रीय कार्यसमिति बैठकले २० मंसिरभित्र नयाँ क्रियाशील सदस्यता फाराम वितरण गर्ने र २४ मंसिरभित्र वडा तहसम्म पु¥याउने कार्यतालिका तय गरेको थियो । तर, क्रमसंख्या नछापिएका करिब चार लाख फाराम वितरण भएपछि विवाद चर्किएको थियो । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले ती फाराम रद्द गर्दै पुसमा मात्रै नयाँ फाराम पठाएको छ । क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया पनि अझै टुंगोमा पुगेको छैन ।
क्रियाशील सदस्यता टुंग्याएर १६ पुसमा वडा अधिवेशन गर्र्ने कार्यतालिका छ । १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । यस्तै, २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका छ । २२ पुसमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने तालिका छ । यस्तै, २३ र २४ पुसमा प्रदेश अधिवेशन र २६, २७ र २८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
महामन्त्री थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले निरन्तर काम गरिरहेको जनाएको छ । ‘हामी रातदिन काम गरिरहेका छौँ । महाधिवेशन निर्धारित समयमा नहुनुपर्ने कारण छैन,’ थापानिकट क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले भने । समितिले छुटेको क्रियाशील सदस्यता केन्द्रबाट सिधै नवीकरण गर्ने व्यवस्थासमेत मिलाएको छ ।
महामन्त्री थापा पक्ष तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने अडानमा छ । महामन्त्री थापाले नियमित महाधिवेशन धकेल्न खोजिए विशेष महाधिवेशन हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तासँग सोमबार छलफल गर्दै थापाले तोकिएको समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन् । ‘महामन्त्रीको हैसियतले मैले पार्टी लिडरसिपलाई स्पष्ट भनिरहेको छु– महाधिवेशन समयमै हुनुपर्छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुन्छ,’ थापाले भने, ‘यसका लागि हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भनेर पार्टी लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ ।’ महामन्त्री थापाले क्रियाशील सदस्यको काम ढिला भएकोमा आपत्ति जनाए ।
मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख
२६–२८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता र नवीकरणको नामावली केन्द्रमा पठाउने म्याद ३ पुससम्म थियो । ५ पुसभित्र स्वीकृति दिनुपर्ने कार्यतालिका पनि प्रभावित भएको छ । यस्तो अवस्थामा निर्धारित समयमा महाधिवेशन गर्न कठिन देखिन्छ, बैठक बसेर आवश्यक निर्णय लिन्छौँ । नयाँ कार्यतालिका आउन सक्छ ।
महामन्त्री गगन थापा पक्षधरको असन्तुष्टि
महामन्त्री गगन थापा पक्ष तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने अडानमा छ । नियमित महाधिवेशन धकेल्न खोजिए विशेष महाधिवेशन हुने थापाको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तासँग सोमबार छलफल गर्दै उनले तोकिएको समयमै महाधिवेशन हुनुपर्ने बताए । ‘महामन्त्रीको हैसियतले मैले पार्टी लिडरसिपलाई स्पष्ट भनिरहेको छु– महाधिवेशन समयमै हुनुपर्छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुन्छ,’ थापाले भने, ‘यसका लागि हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ भनेर पार्टी लिडरसिपलाई स्पष्ट भनिरहेका छौँ ।’
तोकिएको मितिमा नहुनेमा शेखर पक्ष प्रस्ट
शेखर कोइराला पक्षले पनि तोकिएको मितिमा महाधिवेशन नहुने बताएको छ । क्रियाशील सदस्यता नै नटुंगिएको अवस्थामा पुसमा महाधिवेशन नहुने नेता सञ्जय गौतमले बताए । ‘अहिलेसम्म क्रियाशील सदस्यता नै टुंगिएको छैन । त्यसकारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार पुसमा महाधिवेशन हुने सम्भावना अब छैन । कार्यसम्पादन समिति बैठक बसेर मिति हेरफेर हुन्छ,’ गौतमले भने ।