यती समूहबाट घर लिएका कारण छानबिनमा तानिएका आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यको एमाले अध्यक्ष केपी शर्मा ओलीले बचाउ गरेका छन्। हिमालयन टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आफूलाई बदनाम गर्ने उद्देश्यले त्यो प्रकरण बाहिर ल्याइएको दाबी गरे।
‘मेरो निकट रहेको मान्छेलाई लाञ्छित गर्दा, छानामा पानी पर्यो भने अथवा आँगनमा पानी पर्यो भने त्यसको बाछिटा यसो घरभित्र पस्छ भनेजस्तो त्यो छिटा मलाई पनि पार्न सकिन्छ भन्ने कुरा हो,’ उनले भने,‘ यतीसँग घर लिन पाइँदैन ? अनि यतीसँग कहाँबाट जोडिन्छ कुरा ? बैंकमा चाहिँ भुक्तानी देखिएन, दुई लाख, चार लाख, पाँच लाख, १० लाख गरेर दिएको कुरो सबै बैंकिङ कारोबार मात्र हुँदैन। त्यति वेला पनि थिएन। अथवा यसमा बदनियतका साथ गरिएको प्रायोजित प्रयास हो यो, राजेश बज्राचार्यको नाम मुछ्ने कुरा।’ विगतमा पनि भुटानी शरणार्थी प्रकरणमा उनलाई फसाउने प्रयास भएको र अहिले पनि सरकारले योजनाबद्ध रूपमा सो विषय बाहिर ल्याएको ओलीको दाबी छ। सो कम्पनीसँग आफ्ना पिएले घर लिएको विषय भने उनले स्वीकार गरेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले थामसेर्कु ट्रेकिङ कम्पनीलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा बज्राचार्यले सो कम्पनीबाट घर लाभ लिएको सूचना पाएको थियो। सो विषयमा छानबिन गर्दा घरपास गर्दा कुनै लेनदेनसमेत नभएको देखिएपछि त्यो घर घुसबापत भएको सिआइबीको निष्कर्ष छ। तत्कालीन ओली सरकारसँग यती समूहको निकटता, यती समूहले ट्रस्टको जग्गा लिएको समयमा घर पास हुनु र कम्पनीबाट घर पास गरेर लिँदासमेत कतै आर्थिक कारोबार नदेखिनुले सो घर घुसबापतकै भएके भन्दै सिआइबीले भ्रष्टाचार मुद्दामा छानबिन गर्न सिफारिस गरेको थियो।
दरबारमार्गको जग्गा लिज प्रकरणमा भने नेपाल ट्रस्टको कार्यालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की तथा थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध गत २ पुसमा मुद्दा दायर गरिसकेको छ। उनीहरूमध्ये अर्जुनबहादुर र लेखबहादुर अझै थुनामा छन्, उनीहरूको थुनछेक बहस सकिएको छैन। शेर्पा भने फरार छन्।