काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक हुँदै सवइन्जिनियर बनेका प्युठानका एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
ढुंगेगढी गाविस– ४ घर भई सरुमारानी गाउँपालिका– ४ बस्ने भोजबाबु सोमै मगरविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रुम्जाटार मावि, ओखलढुंगामा करिब दुई वर्ष सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए। त्यसपछि सो विद्यालय छाडी ढल व्यवस्थापन आयोजना बुटवलमा सवइन्जिनियर पदमा जागिर खाएका थिए।
उनले नियुक्तिका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने नक्कली प्रमाणपत्रहरू पेस गरेको पाइएको अख्तियारले जनाएको छ।