मकवानपुरका दुग्ध उत्पादक किसानले कच्चा दूधको न्यूनतम खरिद मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।
उत्पादन लागत बढ्दै गए पनि दूधको उचित मूल्य र बिक्री गरेको रकमसमेत समयमै भुक्तानी नपाएको भन्दै किसानले सरकारको ध्यानाकर्षण गराएका हुन्।
क्षितिज दुग्ध उत्पादक सहकारी संस्था मनहरीका अध्यक्ष राममणि न्यौपानेको अगुवाइमा मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उनीहरुले सातबुँदे ध्यानाकर्षण पत्र बुझाइएका छन्।
किसानले दूधको न्यूनतम खरिद मूल्य प्रतिलिटर ७५ रुपैयाँ निर्धारण गरी कार्यान्वयन गर्न माग गरेका छन्। अध्यक्ष न्यौपानेका अनुसार पशुपालनका लागि आवश्यक दाना, चोकर, घाँस, औषधि तथा श्रमको लागत बढ्दै गएको छ। तर, त्यसअनुसार दूधको मूल्य र भुक्तानी प्रणाली व्यवस्थित नहुँदा दुग्ध उत्पादक किसान आर्थिक समस्यामा परेका छन्।
दूध बिक्री गरेबापत पाउनुपर्ने रकम समयमै उपलब्ध नहुँदा किसानलाई पशुपालन व्यवसाय सञ्चालन गर्न कठिन भएको अध्यक्ष न्यौपानेले बताए। माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने किसानको चेतावनी छ।