विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, १२ मंसिर, २०८३
डिजिटल संस्करण

धनकुटा। धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२, कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७:३५ बजे कबिर टोलस्थित ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि पोलमा चढेका थिए । मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर घाइते भएका थिए ।

करेन्ट लागेर नाकबाट रगत बगेको र बोल्नसमेत नसक्ने अवस्थामा रहेका राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक विपन विश्वकर्माको कमान्डमा खटिएको टोलीले उद्धार गरेको थियो । उनलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा पुर्याइएको थियो ।

जिल्ला अस्पतालमा उपचारका क्रममा सोही दिन राति ८:१५ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पताल धनकुटामै राखिएको छ ।

सुझावित समाचार