तीन जिल्लाको लागि जाजरकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

जाजरकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय सञ्चालनमा आएको छ। जिल्लाको पूर्वाधार विकासलाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारको निर्णयअनुसार खलंगामा पूर्वाधार विकास डिभिजन स्थापना गरिएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको कार्यालय स्थापना गरिएको हो। डिभिजनले जाजरकोटसहित डोल्पा र रुकुम पश्चिम जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम हेर्नेछ।

विशेषगरी वैकल्पिक सहायक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक, सडक, पुल तथा सामुदायिक पहुँच सुधारका आयोजना निर्माण र स्तरोन्नति गर्ने जिम्मेवारी डिभिजनलाई दिइएको छ।

जाजरकोटमा कार्यालय स्थापना हुनु जिल्लाको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि भएको प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए। जिल्लामा वर्षौंदेखि सडक तथा पुल निर्माणका आयोजना अलपत्र पर्ने, निर्माणमा ढिलाइ हुने र गुणस्तरमाथि प्रश्न उठ्ने समस्या रहेको उल्लेख गर्दै उनले अब आयोजना कार्यान्वयनको नियमित अनुगमन र प्रभावकारी सुपरिवेक्षणमा ध्यान दिनुपर्ने बताए।

बरालले कार्यालय स्थापना हुनु मात्रै ठुलो कुरा नभई विनियोजित बजेटअनुसार आयोजना समयमै सम्पन्न हुनु महत्वपूर्ण रहेको बताए। 

पूर्वाधार विकास डिभिजन जाजरकोटका कार्यालय प्रमुख सुवास राईले कार्यालयले जाजरकोट, डोल्पा र रुकुम पश्चिममा रहेका आयोजनाको अध्ययन, डिजाइन, लागत अनुमान, ठेक्का व्यवस्थापन, प्राविधिक सुपरिवेक्षण र गुणस्तर परीक्षणलगायतका काम गर्ने बताए।

उनका अनुसार चालू आर्थिक वर्षमा तीन जिल्लामा २५ वटा आयोजनाका लागि ६६ करोड ९१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। जसमध्ये १८ वटा नयाँ र सातवटा पुराना आयोजना रहेका छन्।

जाजरकोट जिल्लामा मात्रै नौवटा आयोजनाका लागि २४ करोड ६१ लाख २३ हजार रुपैयाँ बजेट छुट्याइएको छ। यसमध्ये ६ वटा नयाँ आयोजनाका लागि २० करोड ३४ हजार रुपैयाँ र तीनवटा निरन्तर आयोजनाका लागि चार करोड ६० लाख ८९ हजार रुपैयाँ विनियोजन भएको छ।

त्यस्तै, डोल्पामा चारवटा नयाँ आयोजनाका लागि १२ करोड रुपैयाँ र रुकुम पश्चिममा १२ वटा आयोजनाका लागि ३० करोड ३० लाख रुपैयाँ बजेट रहेको छ।

कार्यालय प्रमुख राईले आयोजना छनोटदेखि निर्माण सम्पन्न हुँदासम्म प्राविधिक पक्ष, गुणस्तर र खर्चको नियमित निगरानी गरिने बताए।

डिभिजन कार्यालयअन्तर्गत प्राविधिक, योजना र प्रशासन गरी तीनवटा शाखा रहनेछन्। प्राविधिक शाखाले सडक तथा पुलको सर्वेक्षण, डिजाइन, प्राविधिक सुपरिवेक्षण र गुणस्तर परीक्षण गर्नेछ भने योजना शाखाले वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, आयोजना कार्यान्वयन र प्रगति विवरणको काम गर्नेछ। प्रशासन शाखाले कर्मचारी व्यवस्थापन, लेखा तथा कार्यालय सञ्चालनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछ।

यसअघि प्रदेशस्तरबाट मात्रै आयोजना अनुगमन तथा सुपरिवेक्षण गर्दा निर्माणस्थलसम्म पुग्न कठिनाइ हुने र स्थानीय तहसँग समन्वयमा समस्या देखिने गरेको थियो। अब जिल्लामै कार्यालय स्थापना भएपछि विकास निर्माणका कामको नियमित निगरानी, ठेक्का व्यवस्थापन र आयोजना कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ।

सुझावित समाचार