- कार्यतालिकाप्रति संस्थापन पक्षकै नेता असन्तुष्ट, अधिवेशन कार्यतालिकाले विशेष महाधिवेशन निस्तेज पार्न खोजेको इतर समूहको बुझाइ
२६ देखि २८ पुससम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशनको कार्यतालिका समीक्षा गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार शीर्ष नेताहरूको अनौपचारिक बैठक आह्वान गरेका छन् । यसअघि नै केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरणको सबै कार्य सम्पन्न गरेर १६ पुसदेखि वडा अधिवेशन गर्ने कार्यतालिका तय गरिसकेको छ ।
देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग महाधिवेशनको तयारी, कार्यतालिका र समसामयिक परिस्थितिबारे छलफल गर्नेछन् । ‘महाधिवेशन कार्यतालिका तथा देशको समसामयिक परिस्थितिबारे पनि छलफल गर्ने गरी सभापतिले बोलाउनुभएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेसले आगामी २१ फागुनको निर्वाचनअघि नियमित महाधिवेशन गर्ने निर्णय गर्दै वडादेखि केन्द्रसम्म सात तहको अधिवेशन कार्यतालिका तयार गरेको छ । हालसम्म कम्तीमा ६ लाख फाराम वडासम्म पुगेका छन् । प्रारम्भमा क्रमसंख्या उल्लेख भएका दुई लाख र क्रमसंख्या नभएका चार लाख फाराम तल्ला समितिसम्म पुगेपछि कांग्रेसमा विवाद भएको थियो ।
‘क्रमसंख्या लेखिएका चार लाख फाराम छापेर तल्ला समिति पुर्याइसकिएको छ । रफ्तारमा काम भइरहेकाले महाधिवेशनको कार्यतालिका प्रभावित हुँदैन भन्नेमा विश्वस्त छौँ,’ महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले नयाँ पत्रिकासँग भने ।
प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता विवादले महाधिवशेनको कार्यतालिकामा प्रभाव पार्ने बताए । ‘क्रियाशील सदस्यता टुंगिने प्रक्रियाले महाधिवेशन कार्यतालिकामा प्रभाव पार्न सक्छ । वडादेखि केन्द्रसम्मको तालिका अलिकति व्यावहारिक थिएन । तर, पार्टीले निर्णय गरिसकेको अवस्था छ । अब सदस्यता कहिले र कसरी टुंगिन्छ भन्ने कुराले आगामी कार्यतालिकाको भविष्य तय गर्छ,’ उनले भने ।
केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन २६–२८ पुसमा गर्ने निर्णय गरेको थियो । यसअघि विशेष महाधिवेशनको माग गर्ने ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा पत्र बुझाएका थिए । नियमित महाधिवेशन हुन नसके विधानअनुसार २८ पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यतासमेतका आधारमा केन्द्रीय समितिले २८ पुसमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
पारित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ र नगरपालिकाको वडा अधिवेशन १६ पुसमा गर्नुपर्नेछ । गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा, प्रदेश सभा क्षेत्रीय अधिवेशन १९ पुसमा गर्नुपर्नेछ भने एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा तथा दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन २२ पुसमा गर्नुपर्नेछ । २३ र २४ पुसमा प्रदेश अधिवेशन सम्पन्न गरेर २६, २७ र २८ पुसमा १५औँ महाधिवेशन गर्नुपर्नेछ । नगर, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको समय तालिका व्यावहारिक नभएको टिप्पणी कांग्रेसमा हुँदै आएको छ ।
विशेष महाधिवेशन पक्षधर असन्तुष्ट
विशेष महाविधेशनको हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरले कम समयसीमा तोकेर तय गरिएको विभिन्न तहका अधिवेशन कार्यतालिकाले विशेष महाधिवेशन निस्तेज पार्न खोजेको टिप्पणी गरे । ‘कम समयसीमा तोकेर तय गरिएको तालिकाले विशेष महाधिवेशनलाई निस्तेज पार्न खोजेको छ । निर्वाचनअघि नै नियमित महाधिवेशन हुने सर्तमा हामी सहयोग गर्छौँ,’ उनले भने, ‘वडा अधिवेशनको मितिसम्मको अवस्था हेर्छौँ । तालिका अनुपयुक्त भएमा विधानअनुसार विशेष महाधिवेशनको ढोका खुला रहन्छ ।’