एमाले ११औँ महाधिवेशन : बाराबाट आठजना केन्द्रीय सदस्य निर्वाचित

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनमा बारा जिल्लाबाट आठजना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। एमालेका पूर्वपोलिटब्युरो सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, कृष्णकुमार श्रेष्ठ किसन र ज्वाला साहसहित आठजना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा एकवाल मियाँ, बलवीर चौधरी, महमद समीर, मोमिन आलम र सीता सुवेदी रहेका छन्। निर्वाचित सबै उम्मेदवार अध्यक्ष केपी ओलीको प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

उता अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका एमाले नेता पूर्वपोलिटब्युरो सदस्य तथा पूर्वयुवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसहित केन्द्रीय सदस्यका उम्मेदवार बाराकी दुर्गाकुमारी कोइराला, चयन गुरुङ र दशरथ राम भने पराजित भएका छन्। यसैगरी केन्द्रीय लेखा आयोग सदस्य पदमा उम्मेदवारी दिएकी टिना सुवेदी मैनाली र अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएकी कमला घिमिरेले पनि निर्वाचनमा हार व्यहोर्नुपरेको छ। केन्द्रीय लेखा आयोग सदस्य पदमा उम्मेदवारी दिएकी टिना एमालेका पूर्वपोलिटब्युरो सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीकी श्रीमती हुन्। श्रीमानले जित हात पार्दै गर्दा श्रीमतीले भने हार व्यहोर्नुपरेको छ।

नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा बाराबाट एक पदाधिकारीसहित १४ जनाले उम्मेदवारी दिएका थिए।

See More On

सुझावित समाचार