महाधिवेशन सकिएलगत्तै भृकुटीमण्डपमा आयोजित शपथग्रहण समारोहबाट एमाले अध्यक्ष केपी ओलीले आफूविरुद्ध सरकारले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै आन्दोलनका लागि तयारी अवस्थामा बस्न पार्टीपंक्तिलाई निर्देशित गरे ।
‘एमाले नेतृत्वमाथि अनेक प्रकारका जालझेल भए । अहिले भौतिक आक्रमणको प्रयास गर्ने र जाली–झुटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । मिडिया ट्रायल गरेर हल्ला चलाएको हुन सक्छ,’ चेतावनीपूर्ण शैलीमा ओलीले भने, ‘म भन्न चाहन्छु– एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । देशभर प्रदर्शन हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ । यसका लागि एमाले देशभर तयारी अवस्थामा बस्नुपर्छ । कुरा होइन, काम गरेर देखाउनुपर्छ ।’
महाधिवेशन प्रतिनिधिले ओलीविनाको एमाले चाहेकाहरूको सपना ध्वस्त पारेको र एमाले विभाजनको धुप बालेकाको धुप नै खेर गएको टिप्पणी गरेका छन् । ‘केपी ओलीविनाको एमाले भन्ने प्रतिक्रियावादीहरूको जुन चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ । त्यसैले पार्टी नेतृत्वमा पुन: विश्वास व्यक्त गरिएकोप्रति आभार प्रकट गर्दछु,’ उनले भने, ‘मेरो इतिहास हेरेर तपाईंहरूले फेरि जुन विश्वास दिनुभएको छ, त्यसका लागि तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । धेरैले एमाले फुट्ने आशा गरेका थिए, फुट्छ भनेर धुप हालिराखेका थिए, तर तिनको धुप खेर जान्छ । महाधिवेशनपछि एमाले अझ मजबुत भएर अगाडि जान्छ।’