पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा बुधबार पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। गण्डकी प्रदेशलाई विशेष प्राथमिकतामा राखी आयोजित उक्त कार्यक्रम भारतको उत्तर प्रदेश र नेपालबिचको पर्यटन प्रवर्द्धनमा केन्द्रित थियो।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य गर्न चाहेको बताए । 

भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा भएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति प्रदान गरिरहेको उल्लेख गरे । उनले नेपाल र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्यहरू समेटिएका पर्यटन परिपथहरूको प्रवर्द्धनमार्फत दुवै देशबिचको पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न संयुक्त प्रयास आवश्यक रहेको  बताए ।

उत्तर प्रदेश पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले आगामी माघमा हुने मेलालाई विशेष रूपमा उल्लेख गर्दै उत्तर प्रदेशका पर्यटन परिपथहरूबारे प्रस्तुति दिए । उनले पर्यटन नीतिको कार्यान्वयनमा उत्तर प्रदेशमा अपनाइएका अभ्यासहरू पनि साझा गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आफ्नो प्रस्तुतिमार्फत नेपालको पर्यटन क्षेत्रबारे विस्तृत जानकारी दिए। उनले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठुलो स्रोतराष्ट्र रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले गरेका पहलहरूको चर्चा गरे।

कार्यक्रमअन्तर्गत आयोजित बिटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधि सहभागी थिए।

सुझावित समाचार