अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सुखद संकेत

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण
  • अस्ट्रेलिया सरकारले उठाएको पछिल्लो कदम ठुला र शक्तिशाली कम्पनीले परिवारबाट चोरेको समय फिर्ता लिने अवसर हो

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यसै साता किशोर–किशोरीलाई सामाजिक सञ्जालमा पहुँच प्रतिबन्धको कार्यान्वयनबारे जानकारी गराउने क्रममा यस अवधिमा विभिन्न समस्या आउने चेतावनी दिए । त्यस क्रममा अल्बानिजले बालबालिकालाई अब विद्यालय बिदाको समयमा ‘फोन स्क्रोल’ गरेर बिताउनुनपर्ने भएकाले घरबाहिर टहल्न वा पढेर बिताउन आग्रह गरे । 

अभिभावकमाझ लोकप्रिय यो टिप्पणी किशोर–किशोरीका लागि भने मजाकको विषय बन्यो । प्रधानमन्त्रीको टिकटक एकाउन्टमा कमेन्ट गर्ने अधिकांशले अझै समाजिक सञ्जाल चलिरहेको बताएका थिए । निश्चित रूपमा देशभर सामाजिक सञ्जाल प्रतिबन्धको कार्यान्वयन समान देखिँदैन । सामाजिक सञ्जाल कम्पनी अझै किशोर–किशोरीको उमेर कसरी प्रमाणित गर्ने भन्नेमा केन्द्रित देखिन्छन् । 

१६ वर्ष उमेरसम्म सामाजिक सञ्जालको पहुँच रोक्ने कानुनबारे मेरो आफ्नै पनि चासो छ । म जेन ‘एक्स’ पुस्ताकी अभिभावक हुँ, जसका बालबच्चा स्मार्टफोनसँगसँगै हुर्किए । हुन त मेरा जीवनसाथी र मैले हाम्रा बच्चाको स्क्रिनटाइम (मोबाइल चलाउने समय) निगरानी गर्ने प्रयास गरिरह्यौँ । तर, हामीले तोकेको समयसम्म समाजिक सञ्जाल चलाउँदा त्यसले उनीहरूमा पार्ने प्रभाव पूर्ण रूपमा रोक्न हामी सक्दैनौँ । अन्य धेरै अभिभावकजस्तै, हामी भित्रभित्रै ठुला प्राविधिक कम्पनीले बिथोलेको हाम्रो पारिवारिक समय र सम्बन्धप्रति आक्रोश व्यक्त गथ्र्र्यौं । यस्तोमा अस्ट्रेलिया सरकारले उठाएको पछिल्लो कदमलाई हामी धेरैले ठुला र शक्तिशाली कम्पनीले परिवारबाट चोरेको समय फिर्ता लिने अवसरका रूपमा हेरेका छौँ ।

तर, प्रतिबन्ध लागू भएपछि मैले के याद गरेकी छु भने हामी अभिभावकले सामाजिक सञ्जालका विभिन्न गलत प्रभावबाट मात्र आफ्ना बालबच्चाको सुरक्षा चाहेका होइनौँ रहेछ । मेरो पुस्ताका अधिकांश अभिभावक अस्ट्रेलियामा बालबालिका फेरि बाल्यकालका स्वर्णिम अनुभव अर्थात् खुला घाममा विचरण, समुद्रमा सर्फ र घरपछाडिको खाली ठाउँमा क्रिकेट खेल हुने पुरानो दिनमा फर्केको हेर्न चाहँदा रहेछौँ । भलै अधिकांश अस्ट्रेलियाली पहिलो र दोस्रो पुस्ताका आप्रवासी भएकाले बाल्यकालसम्बन्धी हाम्रा धेरै रमणीय विचार वास्तवमै थोरैले मात्र अनुभव गर्न पाएका थिए ।

सामाजिक चुनौतीका बाबजुद, बालबालिकाको सुरक्षा आवश्यकता र सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीलाई थप नियमन गर्नुपर्छ भन्नेमा व्यापक सहमति छ । धेरै अभिभावकले सरकारको पछिल्लो प्रतिबन्धबाट राहत महसुस गरेका छन् । अस्ट्रेलिया सरकार विश्वका सबैभन्दा ठुला प्रविधि कम्पनीविरुद्ध खडा हुनु आफैँमा आश्चर्यजनक कुरा भने होइन । यस देशमा जोखिम घटाउन सावधानी अपनाउनेसम्बन्धी बलियो संस्कृति छ । यसअन्तर्गत सनस्क्रिन प्रयोगदेखि साइकल चलाउँदा अनिवार्य हेलमेट लगाउनुपर्ने नियमदेखि पौडी खेल्न सिक्नेसम्म सबै कुरामा प्रयोग गरिएको छ । यी सबैलाई सार्वजनिक स्वास्थ्य अभियानमा समावेश गरिएको छ ।

अन्य उदाहरणमा सन् २०१२ मा यहाँको सरकारले ठुला सुर्तीजन्य कम्पनीले दायर गरेको कानुनी चुनौतीलाई परास्त गर्दै चुरोटको प्याकेटमा आकर्षक रङ र डिजाइन हटाउने विश्वको पहिलो कानुन पारित गर्यो । कोभिड महामारीको समयमा अस्ट्रेलिया विश्वमा सबैभन्दा कठोर कदम अपनाउने देशमध्ये एक थियो । यस्तो अभ्यासले संकटको समयमा सरकारमाथिको विश्वास उच्च हुन्छ । जब अस्ट्रेलियाली जनताले बाह्य खतरा महसुस गर्छन् र ठुला प्राविधिक कम्पनीविरुद्धको लडाइँलाई यसै हिसाबमा हेरिन्छ, तब समर्थन बढ्छ । 

यसलाई प्रतिबन्धप्रति ७७ प्रतिशत अस्ट्रेलियालीको समर्थनले नै इंगित गर्छ । एक देशका रूपमा अघि बढ्यौँ भने हामीले यो लडाइँ पनि धान्न सक्छौँ । हाम्रो देश जनसंख्याका हिसाबमा सानो होला, तर बलियो अर्थतन्त्रका कारण कमजोर छैन । यो बल सन् २०२० को कोभिड महामारीअघिसम्म अस्ट्रेलियाले लगातार २९ वर्ष हासिल गरेको निरन्तर आर्थिक वृद्धिबाट आएको हो । यस देशमा अझै पनि ज्याला स्थिर छ र जीवनयापनको लागत बढिरहेको छ । यस्तोमा यस देशले अझै पनि आफूले चुनेको लडाइँ जित्न सक्छ । 

प्रतिबन्धप्रति बलियो समर्थनका बाबजुद केही मुखर आलोचकले व्यक्तिको पहुँच नै रोक्नुको सट्टा सामाजिक सञ्जाल कम्पनीको कडा नियमन गर्नुपर्ने तर्क गरिरहेका छन् । यस कानुनका लागि सार्वजनिक परामर्शका लागि केवल एक दिन छुट्याइएकामा पनि तिनले प्रश्न गरेका छन् । प्रतिबन्धअघि यसले किशोर–किशोरीको एक–अर्कासँग सम्बन्ध विकास गर्ने क्षमतालाई असर गर्न सक्ने विचार कमजोर होइन । 

तर, आलोचनाका बाबजुद, अस्ट्रेलियाले पहिलो कदम उठाउने निर्णय गरेको छ । प्रतिबन्ध पूर्ण नहोला । तर, यसले आमाबाबु र समुदायलाई सामाजिक सञ्जाल कम्पनीको शक्ति सीमित गर्ने सुरुवात बिन्दु प्रदान गरेको छ । सुरुवाती संकेत सुखद देखिएका छन् । जस्तो– मेरो अनुभवमा प्रतिबन्धको पहिलो दिन स्कुलबाट फर्किएपछि मैले मेरो छोरालाई उसको एकाउन्ट पूरै निष्क्रिय नभए पनि प्रयोग अब अवैध मानिने बताएँ । ऊ मुस्कुराउँदै फोन राखेर साइकल चलाउन गयो । फर्किएपछि उसले यो कानुन केटाकेटीलाई नभई ठुला कम्पनीतर्फ लक्षित भएको थाहा भएको बतायो । यो सुनेर मलाई केही जित हासिल गरेको महसुस भयो ।

(सिमाङ अस्ट्रेलियन लेखिका हुन्)
द गार्जियनबाट

सुझावित समाचार