एसिसी यू–१९ एसिया कपमा लगातार तेस्रो हार व्यहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’को बुधबार भएको खेलमा नेपाली टोली अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । युएईमा चलिरहेको प्रतियोगितामा पहिलो ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा सबै विकेट गुमाएर १२४ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा सहज लक्ष्य पछ्याएको अफगानिस्तानले २६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालको समूहबाट श्रीलंका तथा बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।
श्रीलंका समूह विजेता र बंगलादेशले उपविजेता हुँदै अन्तिम चारको स्थान पक्का गरेका हुन् । समूहबाट श्रीलंका र बंगलादेशले समान ४ अंक जोडेका छन् । अफगानिस्तानले समूह ‘बी’बाट २ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलंकासँग आठ विकेट तथा दोस्रो खेलमा बंगलादेशसँग सात विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट काउन्सिल (एसिसी)का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत: प्रतियोगितामा छनोट भएका हुन् । युएई, नेपाल र मलेसियाले प्रिमियर कपको शीर्ष तीन टोलीका रूपमा छनोट हुँदै एसिया कपमा प्रतिस्धर्पा गरेका हुन् ।
नियाजाईको अर्धशतकीय इनिङ्स
अफगानिस्तानले नेपालविरुद्ध सहज जित निकाल्दा उजेरुल्लाह नियाजाईले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५९ बलमा सात चौका र दुई छक्का प्रहार गरे । ओस्मान सदातले २८ रन बनाए । नेपालका लागि बलिङमा अभिषेक तिवारीले दुई विकेट लिए । विपिन शर्मा र चन्दन रामको नाममा समान एक विकेट रह्यो । पहिलो ब्याटिङ गरेको नेपालको इनिङ्समा कमजदिल्साद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । नेपालको फितलो ब्याटिङमा चन्दन रामले २७ तथा अभिषेकले २० रन जोडे । यसैगरी, रोहन विकले १२ रन बटुले ।
ब्याटिङमा फितलो प्रदर्शन
अफगानिस्तानको कसिलो बलिङका सामु नेपाली युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । अफगानी फास्ट तथा स्पिनर बलरका अगाडि नेपालका ब्याट्सम्यान निरीह देखिए । सबैजसो खेलाडीले रनभन्दा बल बढी खेले । ओपनर नीरजकुमार यादवले ८ रन बनाउन २० बल सामना गरे । विकेटकिपर आशिष लुहारले ४ रन जोड्न २० बल खेले । कप्तान अशोक धामीले ५ रनको योगदान दिए । उनले २३ बल खेलेका थिए । नेपालको इनिङ्समा दोस्रो सर्वाधिक रन बनाएका अभिषेकले ५२ बलको सामना गरेका थिए ।
उनले आफ्नो इनिङ्समा तीन चौका प्रहार गरे । सर्वाधिक रन जोडेका अलीले चार चौका हिर्काएका थिए । पुछारका नितेशकुमार पटेलले १६ बल खेल्दा पनि शून्य रनमा नटआउट रहे । बलिङमा अफगानी बलर जैतुल्लाह सहिनले १० ओभरमा तीन मेडन राखी १९ रन खर्चेर तीन विकेट हात पारे । यसैगरी नोरिस्तानी ओमाजीले १० ओभरमा २६ रन खर्चेर दुई विकेट हात पारे । अफगानिस्तानको बलिङमा नौ मेडन ओभर भएको थियो । नेपालको ब्याटिङमा रोहन विश्वकर्मा र अभिषेकबिच छैटौँ विकेटका लागि ४५ बलमा २८ रन जोडेका थिए । यसैगरी, चन्दन राम र नितेषले नवौँ विकेटका लागि ४२ बलमा २६ रन बटुलेका थिए । चन्दनले २६ बलमा २६ रन नै बनाए ।