नेपालमा संयुक्त राष्ट्रसंघको ८०औँ स्थापना दिवस, प्रधानमन्त्रीले भनिन्–राष्ट्रसंघ उच्च प्राथमिकतामा

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

नेपालमा संयुक्त राष्ट्रसंघको स्थापनाको ८०औँ वर्षगाँठ तथा संयुक्त राष्ट्रसंघमा नेपालको ७० वर्षे साझेदारी मनाइएको छ । राष्ट्रसंघ भवन पुल्चोकमा आयोजित कार्यक्रममा सात दशकको साझेदारीले नेपाली जनताको जीवनमा सकारात्मक परिवर्तन आएको, संस्थागत क्षमतालाई सुदृढ बनाएको र नेपाललाई शान्ति तथा विकासका क्षेत्रमा लाभग्राही मात्र नभई विश्वस्तरको योगदानकर्ताका रूपमा स्थापित गरेको चर्चा भएको छ । 

नेपाल १४ डिसेम्बर १९५५ मा औपचारिक रूपमा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले नेपालले राष्ट्रसंघलाई उच्च महत्व दिएको बताइन् । ‘विश्व शान्ति कायम राख्न, विकासलाई प्रवर्द्धन गर्न र सबैका लागि राम्रो भविष्य निर्माण गर्न संयुक्त राष्ट्रसंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। लामो समयदेखि संयुक्त राष्ट्रसंघले नेपाली जनताको जीवनस्तर सुधार गर्न महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ कार्यक्रम सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनिन् । 

उनले भनिन्, ‘यो ७० वर्षे उपलब्धि हाम्रो साझा यात्रालाई फर्केर हेर्ने अवसर मात्र होइन, आगामी वर्षहरूमा हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धताको समय पनि हो। हामीले सधैं संयुक्त राष्ट्रसंघ बडापत्रका सिद्धान्तहरूलाई पालना गर्दै आएका छौं । यही हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको आधार हो।’ 

नेपालका  सैनिक तथा प्रहरी कर्मचारीहरूले विश्वका विभिन्न भूभागमा शान्तिको लागि सेवा पु¥याएको प्रधानमन्त्रीले स्मरण गरेकी छन् । ‘आज म गर्वका साथ भन्न चाहन्छु कि नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति समर्थन अभियानमा सबैभन्दा धेरै सेना पठाउने देश बनेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘संंयुक्त राष्ट्रसंघलाई आवश्यक परेमा थप सहयोग गर्न पनि नेपाल सधैं तयार छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्की, पाँचजना मन्त्री, सबै सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार, नागरिक समाज तथा संयुक्त राष्ट्रसंघ देश टोली सहभागी थिए । 

संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्दीले संयुक्त राष्ट्रसंघको स्थापना विभाजनभन्दा सहकार्य, निराशाभन्दा आशा र शक्तिभन्दा शान्तिको ऐतिहासिक छनोटमा आधारित रहेको उल्लेख गरिन् । उनले शान्ति विकासको परिणाम नभई विकासको आधार हो भन्ने कुरामा जोड दिँदै ७० वर्षे नेपाल–संयुक्त राष्ट्रसंघ साझेदारीको सन्दर्भमा गरिबी न्यूनीकरण, मातृ स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, वन पुनर्स्थापना, नवीकरणीय ऊर्जा र २०१५ को भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिलाई स्मरण गरिन् । 

कार्यकाल सकेर जान लागेकी उनले प्रधानमन्त्री कार्कीसँग भनिन्, ‘मलाई नेपाल माइतीजस्तो लागेको छ ।’ जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘त्यसो भए तिमीलाई म छोरी भन्छु ।’ 

समारोहमा विश्व शान्तिमा नेपालको दीर्घकालीन योगदानको चर्चा भएको थियो । ‘विश्वका प्रमुख शान्ति सैनिक पठाउने देशहरूमध्ये एकका रूपमा नेपालले सबैभन्दा जोखिमपूर्ण क्षेत्रहरूमा पुस्तौंदेखि शान्ति सैनिक खटाउँदै आएको छ,’ प्रधानसेनापति अशोकराज सिग्देलले भने, ‘नेपालको शान्ति स्थापना योगदान राष्ट्रिय मूल्य—सेवा, त्याग र ऐक्यबद्धताको प्रतिबिम्ब हो ।’ शान्ति स्थापनाका क्रममा हालसम्म ८७ जना नेपाली शान्ति सैनिकले ज्यान गुमाएको स्मरणमा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सुझावित समाचार