धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरभित्र संकलन गरिने फोहोरमैलाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण लगानीमा धनगढी– ७, पटेलामा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।

निर्माण कम्पनीका अनुसार आगामी चार महिनाभित्र केन्द्र सञ्चालनमा आइसक्नेछ । भ्याटबाहेक ९६ करोड रुपैयाँ लागतको यो योजना चिनियाँ कम्पनी सिचुवान प्रोभेन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले निर्माण गरिरहेको छ । कम्पनीका सिनियर इन्जिनियर गोविन्दकुमार मण्डलले फोहोरमैला व्यवस्थापन केन्द्रको समग्र भौतिक प्रगति ८७ प्रतिशत रहेको जानकारी दिए । 

अबको चार महिनाभित्र एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने गरी काम अन्तिम चरणमा पुगेको उनले बताए । यो योजनाको निर्माण अवधि आगामी ३ अप्रिलसम्म छ । ‘त्योभन्दा अगाडि नै काम सकिन्छ । त्यसपछि सञ्चालनमा जान्छ,’ मण्डलले भने, ‘तीस वर्ष कम्पनीले नै सञ्चालन गरेर हस्तान्तरण गर्ने सम्झौता छ ।’ आन्तरिक सडक, हलियाली प्रवद्र्धनलगायत काम बाँकी रहेको कम्पनीले जनाएको छ । 

३० वर्षसम्म धनगढीको फोहोरमैला व्यवस्थापन गर्न सकिने गरी डिजाइन गरिएको फोहोरमैला व्यवस्थापन केन्द्र साढे ३२ बिघा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले संकलितमध्ये दैनिक १३.६६ टन फोहोरमैला खपत गर्नेछ । केन्द्रमा फोहोरको वर्गीकरण गरेर कुहिने फोहोरलाई जैविक मल, प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोग र पुनः प्रयोग गर्न नसकिने फोहोरमैलालाई डम्पिङ गरिने उनले बताए । सन् २०२२ मै निर्माण सम्झौता भए पनि निर्माणस्थल निर्धारण र रुख कटान आदेशका कारण सम्झौताको दुई वर्षपछि मात्र निर्माण सुरु भएको थियो ।

बढ्दो सहरीकरण र अत्यधिक जनघनत्व रहेको सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढीको फोहोरमैला व्यवस्थापन गर्न समस्या छ । विद्यालय, टोल विकास संस्थामार्फत उपमहानगरले नगरभित्र सरसफाइ अभियान नै सञ्चालन गर्दै आएको छ । त्यसका लागि सरसफाइ सहजकर्तासमेत नियुक्त गरिएका छन् । यसले वातावरणीय सरसफाइमा व्यापक परिवर्तन देखिए पनि फोहोरमैला व्यवस्थापनमा भने समस्या झेल्नुपरिरहेको उपमहानगरले जनाएको छ ।

धनगढी उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ शाखाका प्रमुख वातावरण इन्जिनियर अशोक अवस्थीले वर्गीकरण गरेपछि बाँकी रहने नकुहिने फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने ठुलो समस्या रहेको बताए । ‘संकलितमध्ये करिब ३० प्रतिशत फोहोरमैला डम्पिङ गर्नुपर्ने हुन्छ, तर फाल्ने ठाउँ छैन,’ उनले भने, ‘कहिलेकाहीँ डम्पिङ गर्ने ठाउँ नपाएर वर्गीकरण केन्द्रमै फोहोरमैला थुपारेर राख्नुपर्ने बाध्यता छ ।’

फोहोरमैला व्यवस्थापन केन्द्र नभए पनि उपमहानगरले केही वर्षयता फोहोरमैलाको वर्गीकरण गरेर फोहोरमैला व्यवस्थापनमा गर्दै आएको छ । पुनः प्रयोग गर्न सकिने प्लास्टिकजन्य फोहोरमैला बिक्री गर्ने गरिएको छ भने कुहिने फोहोरलाई बायोग्यास प्लान्टमार्फत ग्यास र जैविक मल बनाउने गरिएको छ ।

डम्पिङ गर्नुपर्ने फोहोर स्थानीयको आग्रहमा नदी कटान भएका क्षेत्र, होचो जमिनमा पुर्ने गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए फोहोरमैला कहाँ फाल्ने भन्ने कुनै समस्या नहुने र व्यवस्थापनमा निकै सहज हुने इन्जिनियर अवस्थीले बताए । उनका अनुसार उपमहानगरले अहिले दैनिक २१ टन फोहोरमैला संकलन गर्ने गरेको छ । उपमहानगरले घरबाटै कुहिने र नकुहिने फोहोरमैला वर्गीकरण गरेर संकलन गर्छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत नै कैलालीको गोदावरी नगरपालिकामा झन्डै एक अर्ब लागतमा निर्मित एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र हालै सञ्चालनमा आएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा यहाँका खासगरी सहरी क्षेत्रका पालिकालाई फोहोरमैला व्यवस्थापन प्रमुख चुनौतीका रूपमा छ ।

सुझावित समाचार