वन्यजन्तु उपहार कूटनीति

चितवनको खोरसारबाट कतारको अलखोर जाँदै ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

दुई हात्ती पोथी ‘रुद्रकली’ र भाले ‘खगेन्द्रप्रसाद’ चितवन राष्ट्रिय निकुञ्जको खोरसारस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिए । सात वर्षकी रुद्रकली र ६ वर्षको खगेन्द्रप्रसादले त्यहीँ तालिम प्राप्त गरे । अब उनीहरूलाई चितवनको खोरसारबाट पुर्याइँदै छ कतारको अलखोर । ४९ प्रजातिका ३१५ जीवजन्तु रहेको अलखोर चिडियाखानामा नयाँ सदस्य र पर्यटकको आकर्षण बन्नेछन् रुद्रकली र खगेन्द्रप्रसाद । 

०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार यी दुई हात्ती उपहारस्वरूप कतार पठाउन लागिएको हो । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो विमानमा कतार लैजान लागिएका रुद्रकली र खगेन्द्रप्रसादलाई मंगलबार फलामे खोरमा राखेर भैरहवा विमानस्थल पुर्याइनेछ । खोर निर्माण र भैरहवासम्म पुर्याउने जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषले लिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार हात्तीसँगै एक पशु चिकित्सक र दुई माहुते पनि कतार पठाइनेछ । एक महिना कतारमै रहने उनीहरूलाई कतार सरकारले आफ्नो देशका कर्मचारीसरह सरकारी सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

०८१ मा कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणकै क्रममा हात्ती पठाउने तयारी सरकारको थियो । तर, संकटापन्न सूचीकृत वन्यजन्तुको आयात–निर्यातका लागि स्विट्जरल्यान्डस्थित संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) सचिवालयमा जानकारी दिन ढिलाइ हुनुका साथै प्राविधिक कार्य पूरा नभएकाले प्रक्रिया लम्बिएको थियो । नेपाल साइटिसको पक्षराष्ट्र हो । एसियाली हात्ती, साइटिस महासन्धिमा सूचीकृत रहेकाले व्यावसायिक उद्देश्यले आयात–निर्यात गर्न पाइँदैन । साइटिसको कार्यान्वयनका लागि नेपालमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ कार्यान्वयनमा छ । निकुञ्ज विभागका प्रवक्ता ढकालले साइटिसलाई जानकारी दिनुका साथै उपहार लिने र दिने मुलुकबिच सहमति भइसकेकाले अब लैजाने प्रक्रिया अघि बढेको बताए ।

रुद्रकली र खगेन्द्रप्रसादलाई कतारको अलखोर चिडियाखाना लगेर प्रदर्शनीमा राखिनेछ । घुम्न आउने आगन्तुकसँग घुलमिल गर्न रुचाउने स्वभावका भएकाले उपहार दिन यी हात्ती छनोट गरिएको हो । चितवन निकुञ्ज प्रशासनका अनुसार रुद्रकली सात वर्ष दुई महिनाकी र खगेन्द्रप्रसाद ६ वर्ष एक महिनाको भए । रुद्रकलीलाई पूजाकलीले जन्म दिएकी हुन् भने खगेन्द्रप्रसादलाई कोशीकलीले । दुवैका बुबा भने रोनाल्डो हुन् । यिनीहरूलाई राखिने अलखोर चिडियाखानामा हाल ४९ प्रजातिका ३१५ जीवजन्तु छन् । जहाँ गल्फ, बास्केटबल, स्केटिङलगायत विभिन्न खेलका छुट्टाछुट्टै खेलमैदानसहितको उद्यान छ ।

गोहीका अन्डादेखि गैँडा, ब्वाँसो र चितुवासम्म उपहार
कूटनीतिक सम्बन्ध भएका देशहरूबिच आफ्नो राष्ट्रमा नभएका विभिन्न वन्यजन्तु उपहार दिने प्रचलन छ । नेपालले पनि विभिन्न देशलाई विभिन्न जनावर उपहार दिएको छ । पछिल्लोपटक ०७३ मा चीनलाई गैँडा उपहार दिएको थियो । त्यतिखेर दुई चरणमा गरी भद्र, रूपसी, सोल्टी र मितिनी नामका गैँडा दिएको थियो । 

वन मन्त्रालयका अनुसार नेपालले चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशलाई २६ गैँडा उपहार दिइसकेको छ । त्यस्तै, ब्वाँसो, चितुवा, घडियाल गोहीदेखि त्यसको अन्डासम्म उपहार दिएको इतिहास छ । यसबाहेक नेपालले विभिन्न देशलाई वन्यजन्तुको अखेटोपहार पनि दिएको छ ।

सुझावित समाचार