डेढ दशकदेखि सरकार खोजिरहेका क्रिकेट रंगशाला

निर्माण घोषणा गर्ने, तर समयमै पूरा नगर्ने सरकारी रबैयाले घाँसेमैदान बन्दै छन् करोडौँ लागतका क्रिकेट रंगशाला

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

वर्षौँको जनदबाबपछि यतिवेला कीर्तिपुरस्थित क्रिकेट रंगशाला अन्तर्राष्ट्रियस्तरको बनेको छ । जहाँ हालै नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको प्रतियोगिता सम्पन्न भइसकेको छ । अघिल्लो संस्करणमा त्रिवि क्रिकेट मैदानको परिचय रुख चढेर क्रिकेट हेर्ने भनेर परिचित थियो । एक वर्षको सरकारको लगातारको अनुगमनपछि रंगशालाको स्वरूप फेरिएको हो ।

देशले हाम्रो पनि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला छ है भनेर देखाउने ठाउँ बनेको छ त्रिवि क्रिकेट मैदान । देशका अन्य सहरमा पनि क्रिकेट रंगशाला नभएका होइनन्, तर डेढ दशकअघि निर्माण घोषणा गरिएका ती रंगशालाले आफ्नो अस्तित्व नै गुमाउँदै गएजस्तो देखिन थालेका छन् । २८ जेठ ०६६ मा शिलान्यास भएको मकवानपुरको गौरीटार रंगशाला, ०६८ मा रुपन्देहीको भैरहवामा निर्माण गर्ने भनिएको सिद्धार्थ क्रिकेट रंगशाला र काठमाडौंको मूलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने भनिएको थियो ।

यस्तै, कैलालीको धनगढीस्थित फाप्ला मैदान र कास्कीको पोखरा क्रिकेट मैदानले अहिलेसम्म रंगशालाको स्वरूपसमेत ग्रहण गर्न सकेको छैन । कोहलपुर क्रिकेट मैदान त घाँसेमैदानमा परिणत भएको छ । यी रंगशालाले सरकारको विकासको नारालाई गिज्याइरहेका छन् ।

१० वर्षसम्म अलपत्र छ पोखरा क्रिकेट मैदान 
पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियमसहित पूर्वाधार बनाउन ०७२ मा डिपिआर बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको १० वर्ष पुग्दा पनि कुनै काम भएको छैन । यहाँ २० हजार दर्शक क्षमताको स्टेडियम निर्माणका लागि एक अर्ब ६८ करोडको लागत अनुमान गरिएको थियो ।

हाल मैदानमा दुईवटा पिच छन् । सामान्य पूर्वाधारको शौचालयसमेत छैन । ०७२ मा डिपिआर तयार गरेपछि राखेपले ०७५ मा तीन करोड र ०७६ मा पाँच करोड बजेट विनियोजन गरेको थियो । तर, विनियोजन गरिएको तीन करोड फ्रिज भयो भने पाँच करोडको बजेट ठेक्का प्रक्रियामा गए पनि कोभिडका कारण काम हुन नसकेपछि लागेको ठेक्का पनि रद्द भएपछि बजेट केन्द्रमा फिर्ता गएको थियो । 

पाँच करोड फिर्ता भएपछि राखेपले ०८१/८२ मा मैदानका लागि एक करोड बजेट विनियोजन गरेको थियो । सो बजेटबाट प्लेयर बक्स र त्यसमाथि प्यारापिट निर्माणको काम सुरु गरिए पनि बजेट अभावले पूरा हुन नसकेको पोखरामा कार्यरत राखेपका इन्जिनियर अनिल अधिकारीले बताए । चालू आर्थिक वर्षमा मैदानका लागि तीन करोड रकम विनियोजन भएको थियो । तर, अर्थ मन्त्रालयले तीन करोडसम्मका योजना रोक्का गरेपछि पोखरा क्रिकेट मैदान बजेटविहीन बन्न पुगेको छ ।

‘रकम रोक्का हुँदा गत आर्थिक वर्षमा निर्माण सुरु गरिएको काम पनि अलपत्र छ, ढलान गरिएको संरचना बजेट अभावका कारण फिनिसिङ हुन पाएको छैन,’ उनले भने । क्यानका पूर्वकेन्द्रीय सदस्य ऋषिराम गौतमले राखेपले पोखरामा पूर्वाधार निर्माणका लागि कुनै चासो नदिएको बताए । ‘पोखरालाई सिधै एक अर्ब ६८ करोडको स्टेडियम चाहिएको होइन । सुरुमा आवश्यक पूर्वाघार निर्माण गरेर पछि विस्तार गर्दै लग्न सकिन्छ,’ उनले भने । 

नेपाल र बंगलादेशमा सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपका केही खेल पोखरामा समेत हुने भनिएको थियो । तर, पहिलो चरणका आधारभूत पूर्वाधार नहँुदा पोखरामा हुने भनिएका खेल अन्योलमा छन् । चार वर्षअघि आइसिसीले विश्वकप आयोजनाका लागि नेपाललाई सहआयोजक बनाउने निर्णय गरेको थियो । प्रतियोगिताको सहआयोजक बन्ने अवसर पाएको नेपालका तर्फबाट नेपाल क्रिकेट संघ (क्यान)ले दुई स्थान काठमाडौं र पोखरालाई आयोजना स्थल तोकेर आइसिसीलाई जानकारी दिएको थियो ।

प्रतियोगिताका लागि एक वर्षअघि गत मंसिर ०८१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का दुई प्रतिनिधि सिनियर म्यानेजर रोहित पोडर र डेभलपमेन्ट अफिसर एमडी एम्युनल इस्लामल मैदान अवलोकनका लागि नेपाल आएका थिए । पोखरा पुगेका उनीहरूले मैदान अवलोकनपछि पोखरामा प्रतियोगिता आयोजनाका लागि आइसिसी सकारात्मक भएको बताएका थिए । 

सिद्धार्थलाई बहुवर्षीय योजना राख्न आग्रह 
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको १४ वर्ष बित्दा पनि १६ प्रतिशत मात्र काम भएको छ । क्रिकेट मैदान बनाउन १२ करोड खर्च भइसकेको छ । तीन करोड लागतमा हल, खेलाडी बस्ने ठाउँ र शौचालयसहितको तीनतले भिआइपी प्यारापिट निर्माण गरिएको छ ।

सुरुमा एक करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालयसहित एक तलाको पेभेलियन भवन बनाइएको थियो । त्यसपछि तीन वर्ष लगाएर मैदान सम्माउने काम भयो । अहिलेसम्म पेभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, एक करोडमा पिच, पेभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिकोे काम भने सुस्त छ । 

ऋषिराम गौतम  पूर्वकेन्द्रीय सदस्य, क्यान
राखेपले पोखरामा पूर्वाधार निर्माणका लागि कुनै चासो नदिएको पोखरालाई सिधै एक अर्ब ६८ करोडको स्टेडियम चाहिएको होइन । सुरुमा आवश्यक पूर्वाघार निर्माण गरेर पछि विस्तार गर्दै लग्न सकिन्छ ।

गौचरनजस्तै कोहलपुर क्रिकेट मैदान 
बाँकेको कोहलपुरमा निर्माणाधीन एक हजार दुई सय दर्शक क्षमताको क्रिकेट रंगशाला गौचरनजस्तै बनेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन खेलकुद मन्त्रालयले दुई करोड विनियोजन गरे पनि पर्खाल लगाउने र प्यारापिटबाहेक अन्य संरचना निर्माण नहुँदा जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा खुम्चिनुपरेको छ ।

चार बिघा १९ कट्ठामा फैलिएको क्रिकेट मैदानलाई घाँसले ढाकेको छ । ‘क्रिकेट मैदानमा प्यारापिटभन्दा पिच, चेन्जिङ रुम, बाथरुम, मैदानको लेबलिङ र ग्राफ्टिङ गर्न जरुरी छ,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले भने, ‘अहिलेको पिचमा जिल्ला र प्रदेशस्तरिय प्रतियोगिता गराउनसमेत नसकिने अवस्था छ ।’

सरकारले आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल हुन नसकेको क्षेत्रीले बताए । नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय प्रतियोगिताका लागि कामचलाउ मैदान निर्माण भएपछि कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण गरेको थियो । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएको पिच भत्काएर अर्को १० लाखमा बनाएको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बताए ।

पिच र अन्य संरचना निर्माणका लागि कोहलपुर नगरपालिकाले ३० लाख विनियोजन गरेको थियो । तर, नगरपालिकाले बनाएको पिच पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन । ‘कालो माटोको पिच हुनुपर्ने हो, तर यो क्रिकेट रंगशालाको पिच रातो माटोले गरिएको छ,’ क्षेत्रीले भने, ‘रातो माटोले बनेको पिचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मापदण्ड पुग्दैन ।’ नगरपालिकाको रकमबाट मध्य पश्चिम क्रिकेट क्लबले क्रिकेट मैदानमा दुईकोठे चेन्जिङ रुम, दुई कोठाको बाथरुम र टिकट घर निर्माण गरेको छ । 

 निर्माणको पर्खाइमा देशकै पहिलो फ्रेन्चाइज खेलाएको फाप्ला मैदान
दशकअघि देशकै पहिलो फ्रेन्चाइज धनगढी प्रिमियर लिग सञ्चालन भएको धनगढीस्थित फाप्ला मैदान रंगशाला निर्माणको पर्खाइमा छ । फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने माग उठेको दशकसम्म पूर्वाधार निर्माणको सुरुवातसम्म भएको छैन । नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष हरि रेग्मीले सरकारको प्राथमिकतामा नपर्दा फाप्लामा रंगशाला निर्माण चर्चामै सीमित बनेको बताए ।

‘सरकारी उपेक्षाकै कारण रंगशाला निर्माणको आवाज उठेको १०–१२ वर्षसम्म पूर्वाधार निर्माणको सुरुवातै हुन सकेन,’ उनले भने, ‘रंगशाला बनेको भए एनपिएलजस्ता प्रतियोगिता यहाँ पनि सञ्चालन गर्न सकिने अवस्था हुन्थ्यो ।’ फाप्लावरिपरि तारबार लगाइएको छ । मैदान भने गौचरन बनेको छ । हरेक प्रतियोगिता गर्दा फाप्ला मैदानमा पिच बनाउन कम्तीमा ५–७ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको रेग्मीले बताए । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माणको डिपिआर गत वर्ष असोजमा मात्र पूर्वाधार निर्माण विकास समितिबाट स्वीकृत भएको छ । धनगढी उपमहानगरपालिका– ३ स्थित फाप्ला क्षेत्रको साढे ३८ बिघा सरकारी जमिन खेलग्रामको नाममा आइसकेको छ ।

फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही भने फाप्ला खेलग्रामको डिपिआर र इआइए स्वीकृत भइसकेकाले अब रंगशाला निर्माणको काम अघि बढ्नेमा आशा रहेको बताए । ‘जग्गा प्राप्ति, डिपिआर निर्माणलगायत सबै प्रक्रिया पूरा भएर पूर्वाधार निर्माण सुरु गर्न ‘बेस’ तयार भएको छ,’ शाहीले भने, ‘अब पूर्वाधार निर्माणको चरण सुरु हुन्छ ।’ फाप्लामा डिपिएल गर्नुका साथै त्यसवेला ‘ड्रिम’ फाप्ला अभियान सुरु गरेका शाहीको अध्यक्षतामा सरकारले जेठ ०७९ मा पूर्वाधार विकास समिति गठन गरेको थियो ।

समितिका अनुसार गठन भएको सुरुका दुई वर्ष सरकारले डिपिआर बनाउन बजेट दिएन । डिपिआर र इआइएमा ६० लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । डिपिआरअनुसार ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रंगशाला, फुटबल मैदान, म्युजियम, आवास, होटेल, अस्पताललगायत अन्य व्यावसायिक संरचना निर्माण हुनेछन् । निर्माणको लागत २६ अर्ब अनुमान गरिएको छ । ०६९ मा अन्तरकलेज एसपिए कप क्रिकेट फाप्ला मैदानमा भएपछि यसको चर्चा सुरु भएको थियो । नेपाल क्रिकेट संघ कैलाली जिल्ला अध्यक्ष विक्रम विष्टले डिपिआर बन्नु उपलब्धि भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुनेमा विश्वास नरहेको बताए । राज्यले २६ अर्ब खर्च गर्ने अवस्था नरहेकाले क्रिकेट रंगशाला निर्माण कार्य पनि ओझेलमा पर्छ भन्ने लागेको उनले बताए ।

 तयार भएका रंगशालामा पनि हुँदैनन् प्रतियोगिता
दाङको देउखुरीस्थित लमहीमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला निर्माण भएको छ । राष्ट्रियस्तरका खेल खेलाउन सकिने रंगशाला तयार भए पनि पछिल्लो एक वर्षयता खेल नै भएका छैनन् । खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ । लमही नगर विकास समितिको आठ करोड लगानीमा रंगशाला निर्माण भएको हो ।

अहिले संरक्षणको काम पनि लमही नगर विकास समितिले नै गरिरहेको छ । समितिका इन्जिनियर तुलसी अर्यालले खेल नहुँदा मैदानमा घाँस उम्रिने गरेको बताए । ‘घाँस काट्दा खर्च मात्रै हुन्छ । खेल नहुने समस्या छ,’ उनले भने । रंगशालामा ३९० सिटको भिआइपी प्यारापिट र दुई हजार सिटको दर्शक प्यारापिट छ । चार हेक्टरमा फैलिएको रंगशालाको बाउन्ड्री ८१ मिटर छ । विगतमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप हुने गरेको भए पनि पछिल्ला वर्षमा ती पनि भएका छैनन् ।

मैदानमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले सेड्युल बनाएर खेल खेलाउनुपर्ने उनले बताए । रंगशालामा एनपिएल हुन सक्ने क्षमताको रहेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए । तर, सरकारले यो रंगशालाको महत्व बुझ्न नसकेको उनको भनाइ छ । हाल रंगशालाका १५ वटा व्यापारिक सटरबाट मासिक डेढ लाख आम्दानी हुने गरेको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रंगशालापरिसरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ । क्रिकेट मैदानमा ६ सय दर्शक क्षमताको प्यारापिट, पाँचवटा पिच, १४० मिटर व्यासको खेलमैदान, भूमिगत ड्रेनेज प्रणाली, खेलाडीका लागि चेन्जिङ रुमलगायत संरचना अन्तिम चरणमा छन् । साथै, मिडिया कक्ष, स्कोर बोर्ड, पार्किङ क्षेत्रलगायत आधुनिक आवश्यक सुविधा पनि समेटिएका छन् ।

गौरीटार क्रिकेट मैदानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र घेराबारको काम मात्रै बाँकी रहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामाले बताए । उनका अनुसार परियोजना ०८२ मंसिरभित्र निर्माण सक्ने लक्ष्य छ । एसएनएस÷पिएल÷एचकेसी जेभीले २० चैत ०८० मा नौ करोड ४२ लाख ८२ हजारमा ठेक्का लिएको थियो । कम्पनीले तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको सदस्यसचिव लामाले बताए ।

वर्षौँदेखि बजेट अभाव, बेवास्ता र स्वामित्व विवादकै कारण थन्किएको आयोजना बागमती प्रदेश सरकारको प्राथमिकतामा परेपछि तीव्र गतिमा अघि बढेको हो । २८ जेठ ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको गौरीटार रंगशाला पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य थियो । 

दाङको लमही क्रिकेट रंगशाला तयार भईसके पनि अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । रंगशाला ८ करोड लागतमा निर्माण भएको हो । यो रंगशाला नगर विकास समितिले निर्माण गरेको हो । 

पोखरामा रोहितराज पराजुली, धनगढीमा तेजराज भट्ट, भैरहवामा दिपेश पछाई, बाँकेमा विश्वराज पछल्डङ्ग्या, दाङमा दीपक बोहरा, मकवापुरमा पोष्टराज अधिकारी

सुझावित समाचार