बागलुङको बरेङ गाउँपालिका– २ मा रहेको पुरुषोद्धय माध्यमिक विद्यालयका एक शिक्षकले ११ विद्यार्थीलाई कुटपिट गरेका छन् । अर्थशास्त्रका शिक्षक मिथलेश अधिकारीले नियमित परीक्षामा अर्थशास्त्र विषयमा अनुत्तीर्ण कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई २३ र २४ मंसिरमा कुटपिट गरेको खुलेको हो ।
कक्षा १२ का १५ मध्ये चारजना मात्र अर्थशास्त्रमा उत्तीर्ण भएका थिए । विद्यार्थी तिर्सना परियारले पास नभएका विद्यार्थीलाई जति नम्बर पुगेको छैन त्यति नै लौराले कुटेको बताइन् । ‘मेरो पनि चार नम्बर नपुग्दा चार लौरो पिटाइ खाएँ । परिवारको डरले कसैलाई भन्न सकेका थिएनौँ । शनिबार नुहाउने क्रममा परिवारमा थाहा भयो, त्यसपछि बल्ल कारण खुलाएकी हुुँ,’ उनले भनिन् ।
शिक्षक अधिकारीको कुटाइबाट छोरीको खुट्टाको पिँडुलामा नीलो डाम बसेको तिर्सनाका बाबु दीपेन्द्र परियारले बताए । दीपेन्द्रले आफ्नी छोरीसहित ११ जनाले शिक्षकबाट कुटाइ खाएको बताए । यो घटना मेरी छोरीमाथि मात्र होइन, उनका अन्य साथीलाई पनि शिक्षक अधिकारीले कुट्नुभएको रहेछ । यो बारम्बार हुने गरेको घटना रहेछ,’ उनले भने, ‘विद्यार्थीले कम अंक ल्याए, अनुत्तीर्ण भए भनेर निर्घात कुट्न शिक्षकलाई कसले अधिकार दियो ? यो कानुनविपरीत छ, विद्यालयलाई ध्यानाकर्षण गराएका छौँ । शिक्षकलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।’
प्रधानाध्यापक मनबहादुर श्रीशले विद्यार्थीबाट गल्ती भए पनि कुटपिट गर्नु र यातना दिनु राम्रो नरहेको बताए । विद्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक अधिकारीले विद्यार्थीलाई कारबाहीस्वरूप लट्ठी प्रयोग गरेको र घटनाप्रति आत्मालोचना गरेको जनाएको छ । ‘कुनै पनि विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा असर पर्ने गरि चोट पुर्याउनु गलत वा जटिल परिस्थिति भएको हुँदा सम्बन्धित शिक्षकलगायत अन्य शिक्षकबाट पनि आगामी दिनमा यस किसिमका घटना दोहोरिएमा कानुनसम्मत अघि बढ्न विद्यालय प्रशासन कटिबद्ध रहेको जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ । बरेङ गाउँपालिका शिक्षा अधिकृत सूर्यप्रसाद शर्माले घटनाबारे बुझेर आवश्यक कारबाही प्रक्रियाको थालनी गर्ने बताए ।