नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चाहाना एउटै रहेको प्रतिक्रिया दिएका छन्।
बिहीबार संचारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले उनीहरु के चाहान्छन् भन्ने कुरा मिडियामा बारम्बार दिएका अभिव्यक्तिबाटै प्रष्ट रहेको बताए। बुधबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका पोखरेलले आयोगमा बयानका लागि जानु स्वभाविक रहेको भन्दै ओली पनि जानुपर्ने बताएका थिए।
बिहीबार ओलीले भने, ‘उहाँहरु के चाहानुहुन्छ भन्ने कुरा त उहाँहरुले रिपिटेडली मिडियामा बोलेका कुराबाट प्रष्टै छ त । प्रधानमन्त्री सुशीला कार्कीज्यू र वरिष्ठ उपाध्यक्षजी लगायतका मेरा मित्रहरुको चाहाना त एउटै छ नि।’
कानुनी व्यवस्थाबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले बयानमा जाने वा नजाने आफ्नो विषय भएको जवाफ दिए। उनले भने, ‘बयान दिन जाने नजाने मेरो कुरा हो । के कानुनी व्यवस्था छ, त्यससम्बन्धमा मैले पनि हेरेको होला नि । त्यसबापत सजाय भोग्नुपर्छ के गर्नुपर्छ भने मैले गर्छु होला नि ।’