सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ। कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने सरकारको निर्णय बदर गर्दै अदालतले शाक्यलाई पुनर्स्थापना गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए। उक्त मुद्दामा सोमबार सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले पुनर्स्थापनाको आदेश दिएको हो।
हितेन्द्र चारवर्षे कार्यकालका लागि ११ चैत ०८१ मा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। कार्यकालको ६ महिना पनि नपुग्दै उनलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोग पठाइएको थियो। यसपछि शाक्यले सरकारको उक्त निर्णयविरूद्ध १७ कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले रिटमा मन्त्री घिसिङ र प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख मनोज सिलवाललाई समेत विपक्षी बनाएका थिए।