विघटित नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिस) जिल्ला समन्वय समिति उदयपुरको स्मारिका विमोचन तथा दोस्रो जिल्ला परिषद् सम्पन्न भएको छ ।
गाईघाटमा सम्पन्न भएको कार्यक्रमा ‘शिक्षक आवाज’ उदयपुर नामक स्मारिक विमोचन गरिएको छ । कोशी प्रदेश पूर्वमन्त्री तथा माओवादीकै नेता नारायण बुर्जामगरको प्रमुख आतिथ्यमा उक्त स्मारिकाको विमोचन गरिएको हो ।
स्मारिका विमोचन तथा परिषद् कार्यक्रममा प्रमुख अतिथि मगरले स्मारिका ‘शिक्षक आवाज’ उदयपुरले संगठन ऐतिहासिक दस्ताबेज भएको बताएका थिए । उनले भने, ‘अबका दिनमा संगठन र पार्टी मिलेर समाजवादको बाटो अघि बढ्नुपर्दछ । त्यसमा शिक्षकहरूको ठुलो भूमिका हुन्छ । शिक्षकहरूले देशलाई समाजवादको बाटोमा अघि बढाउनुपर्छ ।’
यसैगरी, एअनेशिस संगठनका केन्द्रीय अध्यक्ष शंखर अधिकारी विशिष्ट अतिथिको रूपमा बोल्दै शिक्षक आन्दोलनको समयमा शिक्षक महासंघ र सरकारबिच भएको सहमतिहरू अब जननिर्वाचित सरकारबाट मात्र पूरा हुने बताएका थिए । शिक्षकका मागहरू नवगठित नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेपछि मात्र पूरा हुने उद्घोषसमेत गरेका थिए ।
एअनेशिस उदयपुरका अध्यक्ष देवीबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्मारिकाको समीक्षासमेत गरिएको थियो । यस महत्त्वपूर्ण परिषद्ले शिक्षक आन्दोलनको दिशा निर्देशन, संगठनात्मक सुदृढीकरण तथा शैक्षिक क्षेत्रमा रूपान्तरणको मार्ग तय गरेकाे कार्यक्रममा सहभागी वक्ताहरूको भनाइ छ ।
एअनेशिसको परिषद् संगठनको आर्थिक प्रतिवेदन तथा सांगठनिक प्रतिवेदनलगायत पारित गर्दै संगठनका लागि आवश्यक निर्णयहरू गरेको एअनेशिस उदयपुरका कोषाध्यक्ष बालकृष्ण काफ्लेले जानकारी दिए ।