जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कोटेश्वरमा फ्लाइओभर र अन्डरपास निर्माण अघि बढ्ने सुनिश्चित भएको छ । नेपाल र जापानबिच कोटेश्वर चोक सुधार आयोजनाका लागि बुधबार ऋण सम्झौतामा हस्ताक्षर भएसँगै पौने ३२ अर्ब रुपैयाँ लागतको उक्त आयोजना अघि बढ्ने निश्चित भएको हो ।
कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानले ३४.५९ अर्ब जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको छ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्षको रहेको छ । त्यस्तै, भुक्तानी अवधि ३० वर्ष रहेको ऋणको ब्याजदर वार्षिक ०.२ प्रतिशत रहेको छ । नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने निश्चित भएसँगै दातृ देश तथा निकायले ब्याजदर बढाउँदै लगेका छन् । यद्यपि, जापानले यस आयोजनाको लागि न्यून ब्याजदरमा ऋण दिने भएको हो ।
यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । यसबाट काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी, अरनिको राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थतिमा बुधबार आयोजित कार्यक्रममा ऋण सहायतासँग सम्बन्धित ‘एक्सचेन्ज नोट्स’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।
ऋण सम्झौतामा हस्ताक्षरपछि नेपालका लागि जापानी राजदुत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले नेपाल र जापानबिचको दसकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गर्दै साथ–सहयोग निरन्तर रहने बताए ।
अर्थमन्त्री खनालले नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । अब सडक विभागले डिजाइन परामर्शदाता छनोट गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने प्रवक्ता ई. श्यामबहादुर खड्काले बताए । डिपिआर बनेपछि परियोजनाअन्तर्गत बन्ने संरचना टुंगो लाग्नेछन् ।
कस्तो बन्नेछ आयोजना ?
जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले कोटेश्वर सुधार आयोजनाको ‘पूर्वतयारी सर्वेक्षण’ गरिसकेको छ । जसअनुसार दुई फ्लाइओभर र एक हाफकट सुरुङमार्ग बनाउने तयारी छ । पूर्वतयारी सर्वेक्षणअनुसार मनोहराबाट–त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टसम्म फ्लाइओभर बनाउने प्रस्ताव गरिएको छ । एयरपोर्ट विन्दुमा भने ‘हाफ कट टनेल’ (केही हिस्सा जमिनभित्र र केही हिस्सा जमिनबाहिर हुने गरी बनाइने सुरुङ) प्रस्ताव गरिएको छ । एयरपोर्टको धावनमार्ग अघि एप्रोच लाइट राखिएका जमिनमुनि सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ । त्यहाँबाट तिनकुनेको बागमती पुलसम्म पुन: अर्काे फ्लाइओभर नै बनाउने प्रस्ताव गरिएको छ । संरचनाको वास्तविक प्रारूप भने अब बन्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले देखाउनेछ ।