हेटौँडा सडक विस्तारविरुद्ध आज पनि मुख्य बजार बन्द

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडक विस्तार गर्ने सरकारी तयारीको विरोधमा स्थानीय घरधनी र व्यापारीले मुख्य बजार बन्द गरेका छन् । सडक सीमाभित्र पर्ने घरहरू भत्काउने सूचनाको विरोध गर्दै मंगलबार बजार बन्द गराएका आक्रोशित स्थानीयहरूले आज पनि बिहानैदेखि हेटौँडाको मुख्य बजार क्षेत्र बन्द गराएका हुन् ।

सरकारले राजमार्गको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर (हाल २५/२५ गज) सडक विस्तार गर्ने योजना अघि सारेपछि हेटौँडाका बासिन्दाहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले मुआब्जाको माग गर्दै ‘नागरिकलाई उठीबास लगाउन पाइँदैन’, ‘विनाविकल्प डोजरआतंक बन्द गर’, ‘व्यवसायीको उचित व्यवस्थापन गर’जस्ता नारा लगाएका छन् ।

बजार क्षेत्रमा २५ गज सडक विस्तार गर्दा सयौँ घरहरू भत्किने र नागरिक सुकुम्बासी हुने भन्दै संविधानले प्रदत्त गरेको सम्पत्तिसम्बन्धी अधिकार सुनिश्चितताको माग गरेका छन् । उनीहरूले बजार क्षेत्रमा सडकको चौडाइ १६ मिटर मात्र कायम गरिनुपर्ने वा विकल्पमा बाइपास सडक प्रयोग गर्नुपर्ने माग राख्दै आएका छन् भने भत्काइने संरचनाको उचित मुआब्जा र क्षतिपूर्तिको ग्यारेन्टी नभएसम्म डोजर चलाउन नदिने अडान राखेका छन् ।

मंगलबारबाट सडकमा उत्रिएका घरधनी तथा व्यवसायीहरूले हेटौँडाका मुख्य राजमार्गमा नाराबाजी गर्दै जबर्जस्ती पसल तथा व्यवसायहरू बन्द गराउँदै हिँडेका थिए । बिहान केही समय खुलेका पसलहरू खुलेका भए पनि अहिले मुख्य बजार क्षेत्र पूर्ण रूपमा ठप्प बनेको छ । उनीहरूले बिहीबारदेखि अनिश्चितकालका लागि व्यवसाय बन्द गर्न भन्दै बजार क्षेत्रका पसलहरू बन्द गर्न भनेका छन् ।

हेटौँडाको बुद्धचोक, सीमाचोक, बैंकरोडलगायतका क्षेत्रमा प्रदर्शनकारीले र्याली निकालेका थिए। प्रदर्शनका क्रममा तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। स्थानीय प्रशासनले शान्तिपूर्ण विरोध गर्न पाइने भए पनि जबर्जस्ती बन्द गराउनु र नागरिकको दैनिक जीवनमा अवरोध पुर्याउनु गैरकानुनी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

उनले जबर्जस्ती पसल बन्द गराउँदै हिँड्ने समूहलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। ‘आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार कुण्ठित गर्न पाइँदैन। आन्दोलन गर्न पाइन्छ । तर, अरूलाई असर पर्न भएन । जबर्जस्ती पसल बन्द गराउने कार्यलाई हामीले निगरानीमा राखेका छौँ । प्रशासन टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘हाम्रो टोली फिल्डमै छ । उनीहरूले फोटो खिच्ने र प्रमाण संकलन गर्ने काम गरिरहेका छन् । कानुन हातमा लिन खोज्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउँछौँ ।

सुझावित समाचार