- अनलाइनमा हुने घटनाक्रमले अफलाइनमा समेत हानि निम्त्याउँछ र त्यसले महिला र युवतीलाई गम्भीर क्षति पुर्याउँछ
भारतमा फेरि अर्की एक महिलाले आत्महत्या गरेकी छिन् । उनलाई पतिले यातना दिएको पीडितका भाइको भनाइ छ । सन् २०१० मा विवाह भएदेखि नै सम्बन्धमा उत्तारचढाव आएको थियो । पान मसलाका व्यापारी कमल किशोरका छोरासँग विवाह गरेकी दिप्ती चौरसियाले १५ वर्षसम्म यातना सहिन् । तर, अन्तत: प्राणत्याग गर्न बाध्य भइन् । उनका भाइको दाबीअनुसार उनलाई चरम यातना दिइएको थियो र उनका पतिको अर्कै महिलासँग अफेयर चलेको थियो । आत्महत्या गर्नुअघि ३८ वर्षीया ती महिलालाई बारम्बार घरबाट निकालिएको थियो । पति अर्पित र उनकी आमालाई आत्महत्या गर्न दुरुत्साहित गरेको आरोपमा पक्राउ गरिएको छ । यसअघि निक्की भाटीको हत्यामा पाँच सय पृष्ठको प्रहरी आरोपपत्र जारी भएको केही दिनमै यो दु:खद घटना भएको हो । निक्की भाटीको हत्याको योजना उनका पति विपिन र उनकी आमाले बनाएका थिए । अगस्ट २१ मा उनका ६ वर्षीय छोराकै उपस्थितिमा उनलाई आगो लगाइएको थियो ।
यो त्रासदी महिलाविरुद्ध भइरहेको हिंसालाई उजागर गर्ने संयुक्त राष्ट्रसंघीय लैंगिक हिंसाविरुद्धको वार्षिक १६ दिने अभियान चलिरहेका वेला पछिल्ला घटना भएका छन् । तथापि, यी नयाँ घटना भने होइनन् । विश्वभर नै महिलामाथिको हिंसा चरम रूपमा बढिरहेको छ । तथ्यांक निराशाजनक छ । विश्वभर तीनमध्ये एक महिला र किशोरी शारीरिक वा यौनहिंसाको सिकार हुने गरेका छन् । महिलाविरुद्धको हिंसा स्पष्ट रूपमा अपराध हो । यो त्यस्तो अपराध हो, जसलाई हामी टाढाबाट हेर्छौं । पतिले पत्नीलाई निरन्तर गाली गर्नु वास्तवमा दुर्व्यवहार हो भनेर स्वीकार गर्न अनिच्छुक छौँ हामी ।
संयुक्त राष्ट्र संघको अनुमानअनुसार २०२४ मा विश्वभर ५० हजार महिला तथा किशोरी आफ्ना घनिष्ठ पार्टनर वा परिवारका सदस्यद्वारा मारिएका थिए । अर्को तरिकाले हेर्ने हो भने गत वर्ष भएका सबै महिला हत्याका ६० प्रतिशत घटना परिवारका सदस्यद्वारा गरिएका थिए । त्यो भनेको प्रतिदिन १३७ महिला हुन् । हामीले हिंसालाई सामान्यीकरण गरेका मात्र छैनौंँ, बरु दुर्भाग्यवश कतिपय अवस्थामा त्यसलाई जायज मान्नसमेत पछि परेका छैनौँ । भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणअनुसार कथित खानेकुरा नमिठा पकाएको, पतिको अनुमतिविना घर छाडेको, सासू–ससुराको अनादर गरेकोलगायत आरोपमा हुने कुटपिटलाई ४५.४ प्रतिशत महिला र ४४ प्रतिशत पुरुषले वैधता दिनुपर्ने विश्वास गर्छन् ।
यस वर्ष राष्ट्रसंघीय महिलाले हिंसाको नयाँ रूप डिजिटल हिंसा वा प्रविधिमार्फत भइरहेका हिंसामा ध्यान केन्द्रित गरिरहेको छ । यसमा महिलाको पिछा गर्ने, तस्बिर, भिडियो र अडियोलाई डिपफेक गर्ने, सहमतिविना तस्बिर सेयर गर्ने र विशेषगरी हाई–प्रोफाइल र सार्वजनिक जीवनमा रहेका व्यक्तिलाई आक्रमणको निसाना बनाउनेलगायत क्रियाकलाप समावेश छन् । कृत्रिम बुद्धिमत्ताले परिस्थितिलाई झनै खराब बनाइरहेको छ । ‘तस्बिरमा आधारित दुर्व्यवहार विस्फोट भइरहेको छ । ‘अनुमानित ९० देखि ९५ प्रतिशत अनलाइन डिपफेकले महिलालाई यौनजन्य तरिकाले चित्रण गर्छन्,’ एक राष्ट्रसंघीय महिला व्याख्याकर्ता भन्छिन् ।
अनलाइनमा हुने घटनाक्रमले अफलाइनमा समेत हानि निम्त्याउँछ । नोभेम्बरको सुरुमा जारी गरिएको एक रिपोर्ट ‘मेक इट रियल’ले कसरी एआईको सहयोगमा उत्पादित सामग्री वा डिपफेकले सेलिब्रेटीलाई मात्र नभई साधारण महिला र युवतीलाई हानि पुर्याइरहेको छ भन्ने देखाउँछ । उनीहरूलाई अपमानित गर्न कृत्रिम रूपमा हेरफेर गरिएका तस्बिरको व्यापक प्रयोग गरिएको छ । डिजिटल दुरुपयोग बढ्दो रूपमा हिंसात्मक अतिवादसँग जोडिएको छ । यसले सामाजिक सञ्जाल प्लेटफर्महरूमा महिलाहरूको आवाजलाई मौन बनाउँछ र व्यवसायमा आर्थिक नोक्सानी निम्त्याउन सक्छ ।
गत साता मैले एक अविश्वसनीय साहसी युवतीसँग कुरा गरेँ । जसले थाहा पाइन् कि एक पूर्वप्रेमीले सामाजिक सञ्जालमा सहमतिविनाको भिडियो चुहावट गरेका थिए । सो भिडियो १२० पोर्न साइट र सामाजिक सञ्जाल प्लेटफर्ममा फैलाइएको थियो । महिलाले प्रहरीमा उजुरी दर्ता गर्ने निर्णय गरिन् । दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परे । तर, भिडियो हटाउन गाह्रो साबित भयो, किनकि जब यो एक साइटबाट हटाइयो, अर्को साइटमा पुन: देखा पथ्र्यो । ती महिलाले अदालतको ढोका ढकढकाइन् र अदालतले सरकारलाई यस्ता गुनासोको सामना गर्न कार्यविधि बनाउन आदेश दियो । अक्टोबरमा विद्युत् तथा सूचना प्रविधि मन्त्रालयले कहाँ र कसरी उजुरी दर्ता गर्ने र त्यस्ता तस्बिर हटाउने सुनिश्चित गर्ने कदमबारे जानकारीसहितको नौ पृष्ठको ‘प्रोटोकल’ प्रस्तुत गरेको थियो । यो लैंगिक हिंसाविरुद्धको लडाइँमा एउटा सानो तर महत्वपूर्ण विजय थियो ।
(भारतीय पत्रकार भण्डारे महिला, लैंगिक हिंसालगायत विषयमा कलम चलाउँछिन् ।)
हिन्दुस्तान टाइम्सबाट