नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘अनुहार हेरेर’ फैसला गरेको टिप्पणी गरेका छन्। मंगलबार च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले सर्वोच्चले संविधानविपरीत फैसला गरेको टिप्पणी गरे।
मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले सोमबार परमादेश दिँदै आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र विश्वासको मतको प्रस्ताव पेस गर्न भनेको छ।
संविधानमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था भए पनि अदालतले चार दिन समय बाँकी रहँदै २४ घण्टा तोकेर विश्वासको मतको प्रस्तावका लागि समय दिनु असंवैधानिक रहेको ओलीको ठहर छ।
अदालतले आफ्नो र संविधानको मर्यादा कायम राख्नुपर्ने भन्दै ओलीले परिस्थिति, मान्छे वा अनुहार हेरेर फैसला गर्नु वाञ्छनीय नहुने बताए।
‘तीन दिन वर तान्नका लागि सम्मानित सर्वोच्च अदालतले संविधानविपरीत २४ घण्टाको परमादेश दिन्छ, कुन धाराको आधारमा? आवश्यकताको सिद्धान्त भनेको त्यही हो कि?’ ओलीले प्रश्न गरे।
अदालतको आदेशको सम्मान गर्ने उल्लेख गर्दै उनले सधैँ एमालेकै भागमा संविधानविपरीत फैसला आउने गरेको बताए।