नेपाली दर्शकअगाडि खेल्न उत्साहित डु प्लेसिस

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

विराटनगर किंग्सबाट खेल्न दक्षिण अफ्रिका पूर्वकप्तान फाफ डुप्लेसिस सोमबार काठमाडौं आएका छन् । दोस्रो संस्करणको एनपिएलका लागि कतार एयरबेसको विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएपछि डु प्लेसिसले नेपाली दर्शकमाझ खेल्न आफू निकै उत्साहित भएको बताएका छन् । चालू एनपिएलमा विदेशी खेलाडीमध्ये अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक नाम कमाउनेमा उनी पर्छन् । नेपालमा चलिरहेको एनपिएलमा आफू नयाँ अनुभव बटुल्न आएको डु प्लेसिसले बताएका छन् । 

एनपिएल पहिलो सिजनबाटै आफूले पछ्याएको र विराटनगर किंग्सले उत्कृष्ट प्रदर्शन गरिरहेको उनको भनाइ छ । ‘गत सिजनदेखि मैले एनपिएल लिग पछ्याइरहेको छु । मैले सोसल मिडियामा नेपाली दर्शक क्रिकेटप्रति कति लगाव रहेको छ भन्ने थाहा पाएको छु,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘लामो यात्रा गरेर भर्खर आइपुगेको छु । एकदम फ्रेस छु । स्वागतका लागि सबैलाई धन्यवाद छ ।’ डु प्लेसिसले विभिन्न राष्ट्रमा हुने फ्रेन्चाइज लिगमा सहभागी हुँदा नयाँ संस्कृति बुझ्न अवसर पाउने बताए । ‘नयाँ संस्कृति देख्न पाउनेछु । सबैभन्दा महत्वपूर्ण भनेको उत्साही दर्शकको अगाडि प्रदर्शन गर्नु हो,’ उनले भने, ‘अबका केही दिनका लागि म एकदमै आतुर छु ।’ पहिलो संस्करणमा विराटनगरको खेल हेरेको उनले बताए । ‘मैले गत वर्ष पनि एनपिएल अलिअलि हेरेको थिएँ । यसपालि धेरै म्याच हेरेँ, खासगरी विराटनगर किंग्सको,’ उनी भन्छन्, ‘अहिले म आबद्ध विराटनगरले ५ मा चारवटा खेल जितेको छ ।’ एनपिएलमा धेरै समय नहुँदा प्राप्त अवसरमा प्रभावशाली प्रदर्शन गर्ने डु प्लेसिसले बताए । 

सुझावित समाचार