जसपा प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरू नेकपामा समाहित हुने

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन्। जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र सचिव राम माण्डुपा राईले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरु नेकपामा समाहित हुने घोषणा गरेका हुन्। 

जेनजी आन्दोलनका कारण निर्वाचित सरकार ढल्नु, संसद विघटन हुनु र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु धरापमा परेकाले त्यसलाई संरक्षण गर्न आफूहरु एकताको पक्षमा उभिएको प्रदेश अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ। जसपाका शीर्ष नेता अशोक राई पार्टीमै रहने भएपछि आफूहरुले नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिएका छन्। 

राजनीतिक दलहरूबीच विश्वासको अभाव र विभाजनका कारण लोकतान्त्रिक संस्थाहरु कमजोर हुँदा जनतामा निराशा बढेकाले जनताको निराशालाई आशामा बदल्न आफूहरु एकताको पक्षमा उभिएको विज्ञप्तिमा भनिएको छ। पछिल्लो राजनीतिक परिस्थितिमा प्रगतिशील शक्तिहरु एकतावद्ध भएर अगाढि बढेको खण्डमा मात्र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सकिने उनीहरुको ठम्याइ छ।

प्रदेश अध्यक्ष राईले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न आफूहरुले नेकपासँग एकता प्रक्रिया अघि बढाएको स्पष्ट पार्दै यसलाई ‘देशको राजनीतिक स्थिरता, आर्थिक सुधार र नयाँ वैकल्पिक मोर्चा निर्माणतर्फको महत्वपूर्ण कदम’ भएको बताएका छन्। जेनजीहरुको मागलाई सम्बोधन गर्दै २१ औँ शताब्दीको समृद्ध नेपाल निर्माणका निम्ति प्रगतिशील शक्तिहरु एकतामा जुट्न आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।

जसपा परित्याग गरेर नेकपामा समाहित हुन लागेका नेताहरुलाई यही मङ्सिर–१५ गते विराटनगरमा आयोजना हुने एकता सन्देशसभामा स्वागत गरिने तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवम् नेकपाका नेता पृथ्वी किरातीले जानकारी दिएका छन्। विराटनगरमा हुने एकता सन्देशसभामा विभिन्न पार्टी परित्याग गरेर नेकपा प्रवेश गर्ने नेताहरुको सङ्ख्या ठूलो रहेको जनाइएको छ।
 

सुझावित समाचार