निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा पसेका तीनजना बेहोस

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिका–८, मझौवागाउँमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीको सेटरिङ खोल्ने क्रममा बेहोस भएका कामदारको उद्धार गर्न पुगेका दुई युवक पनि बेहोस भएका छन् ।

स्थानीय मिश्री रायको निर्माणाधीन घरको सेफ्टी ट्यांकीको सेटरिङ खोल्ने क्रममा बिहीबार अपरान्ह करीब ३ बजेतिर स्थानीय कामदार ३३ वर्षीय राकेश राय बेहोस भएका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार उनको उद्धार गर्न ट्यांकीभित्र पसेका दिपन राय र मिथलेश्वर राय पनि बेहोस भएका हुन् । 

ट्यांकीभित्र बेहोस भएका तीनैजनालाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि मिर्चैया–७ स्थित मनकामना अस्पताल ल्याएका थिए । उद्धारका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । 

अस्पतालमा उपचार गराइरहेका राकेश र दिपनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिथलेश्वर भने उपचारपछि साँझ घर फर्किसकेका छन् । स्थानीयले निर्माणाधीन ट्यांकीमा अक्सिजन अभाव र विषाक्त ग्यासको मात्रा बढी भएकाले घटना भएको हुन सक्ने अनुमान गरेका छन् ।
 

सुझावित समाचार