प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको अभिव्यक्ति मुस्लिम समुदायविरोधी भन्दै आप्रवासी नेपाली मुस्लिमहरूले पनि भर्त्सना गर्दै तत्काल फिर्ता लिन माग गर्न थालेका छन् । प्रधानमन्त्री कार्कीले इस्लाम, मुस्लिम समुदाय र अरब समाजबारे दिएको अभिव्यक्ति ‘आपत्तिजनक, विभाजनकारी तथा आधारहीन’ भन्दै आप्रवासी नेपाली मुस्लिमहरूले तत्काल फिर्ता लिन माग गरेका हुन् ।
मध्यपूर्वको खाडी मुलुक कतारमा कार्यरत आप्रवासी नेपाली श्रमिकहरूको संगठन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्का मुस्लिम पदाधिकारी, आप्रवासी मुस्लिमहरू आबद्ध रहेको अन्तर्राष्ट्रिय मुस्लिम समाजले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदायको आत्मसम्मानमा गहिरो चोट पुगेको औँल्याउँदै फिर्ता लिन माग गरेका हुन् ।
कतारस्थित आप्रवासी नेपाली श्रमिकहरूको हकहितका लागि कार्यरत परिषद्का तृतीय उपाध्यक्षसमेत रहेका मुस्लिम अगुवा जहागिर आलमले प्रधानमन्त्रीजस्तो व्यक्तिले कुनै निश्चित समुदाय, धर्मको नाम नै किटान गरेर महिलाविरोधी करार गर्न खोजिनु आपत्तिजनक रहेको बताए । ‘आस्थाअनुसार सबैले आफ्नो धर्म मान्छन्,’ उनले भने, ‘तर, मुस्लिम समुदायको आस्थामाथि मात्र प्रहार गर्ने गरी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले कतारमा श्रम गरिरहेका करिब ८० हजार नेपाली मुस्लिम श्रमिक पनि स्तब्ध भएका छौँ ।’ प्रधानमन्त्रीले धार्मिक सहिष्णुताविरोधी आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्दै तत्काल फिर्ता लिन उनको माग छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलीले प्रधानमन्त्रीको अभिव्यक्तिले निश्चित धार्मिक समुदायलाई गलत रूपमा चित्रण गर्दै बहुसांस्कृतिक समाजमा घृणा फैलाउने भन्दै फिर्ता लिन माग गरेका छन् । ‘महिलामाथि हुने र भइरहेका हिंसा अन्य धार्मिक समुदायमा छैन र ?’ उनले भने ‘हिंसा हुनुमा निश्चित धार्मिक समुदायलाई दोष थोपरेर प्रधानन्यायाधीशसमेत भइसक्नुभएकी प्रधानमन्त्री पानीमाथिको ओभानो बन्न खोज्नु राम्रो भएन ।’ पत्रकारसमेत रहेका समाजका सल्लाहकार करिम बक्स मियाँले प्रधानमन्त्रीले नेपालमा सामाजिक सदभाव र धार्मिक सहिष्णुताका लागि सदैव सचेत नेपाली मुस्लिमहरूको धार्मिक आस्थामा चोट पुर्याउने गरी दिएको अभिव्यक्ति खेदजनक रहेको बताउँदै फिर्ता लिनुपर्ने माग गरे ।
के भनेकी थिइन् कार्कीले ?
लैंगिक हिंसाविरुद्धको अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा यति अन्यायपूर्ण देखिन्छ– जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखिएको छ । पुराना अरेबियनहरूको सिस्टम हुन्छ, जहाँ मुसलमानहरूको प्रवृत्ति र उनीहरूको व्यवहार देख्छौँ । यसो हेर्दा आजादी नदिने, पढ्न पनि नदिने देखिएको छ ।’ तर, कतिमा उदारता पनि देखिएको छ । पहिलेको मुस्लिम सुडानमा, इजिप्टमा महिलाहरू डाक्टर भएका छन् । धनसम्पत्तिमा बलिया भएका छन् । तर, बहुविवाह भएमा त्यसलाई नराम्रो नमान्ने संस्कार त्यो वेला थियो । बिस्तारै–बिस्तारै महिलाहरू प्रताडित हुँदै गए । हिन्दु धर्ममा पनि त्यही भन्छ । पहिले महिलाहरूमा एकदमै आजादी थियो । पहिले आर्यन महिलाहरूको समाज असाध्यै उदार थियो । तर, मुसलमानहरूले हमला गर्न थाले, त्यसपछि आर्यनहरूले पनि सात वर्षकी बच्चाको बिहे गर्ने, अरू कुराहरूलाई संकीर्ण बनाउँदै–बनाउँदै गए भन्ने छ । धर्मले महिलालाई सताऊ, पीडा देऊ भनेको छैन ।’