कांग्रेसमा महाधिवेशनको मितिबारे संस्थापन पक्ष र इतर पक्षबिच जारी विवाद टुंग्याउने प्रयास बुधबार नटुंगिएपछि बिहीबार बोलाइएको केन्द्रीय कार्य समिति बैठक शुक्रबारलाई सरेको छ । विशेष महाधिवेशन पक्षधर नेताले बुधबार विशेष सभा आयोजना गरेपछि महाधिवेशनका लागि नेतृत्व थप दबाबमा परेको छ ।
पुस महिनाभित्र विधानत: विशेष महाधिवेशन आयोजना गर्नुपर्ने दबाबबिच सभापति शेरबहादुर देउवासँगको समन्वयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले बुधबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर, विशेष महाधिवेशनका लागि संस्थापन पक्ष तयार नभएपछि सहमति जुट्न सकेन ।
छलफलबारे जानकार स्रोतका अनुसार चर्को आन्तरिक दबाबका कारण पुसभित्रै नियमित महाधिवेशनको तालिका ल्याउन संस्थापन पक्ष तयार भए पनि विशेष महाधिवेशनका लागि भने तयार भएको छैन । महामन्त्रीद्वयले भने पुसभित्रै नियमित महाधिवेशन आयोजना गर्ने ग्यारेन्टी भएमा विशेष महाधिवेशनको निवेदन स्वत: निष्क्रिय हुने जवाफ दिएका छन् ।
कार्यवाहक सभापति खड्का र नेता लेखकले विशेष महाधिवेशनका लागि दर्ता भएको निवेदन फिर्ता लिन महामन्त्रीद्वयले सार्वजनिक अपिल गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । शुक्रबार केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको कार्यतालिकामा सहमतिका लागि प्रयास गर्ने संस्थापन र इतर पक्षले जनाएका छन् ।
बुधबारको छलफलमा महामन्त्रीद्वयले पुसभित्रै नियमित महाधिवेशन हुँदा मात्र विशेष महाधिवेशन रोकिन सक्ने जवाफ दिएका छन् । ‘पुसभित्रै नियमित महाधिवेशन भए मात्र विशेष महाधिवेशनको मुद्दा स्वत: निष्क्रिय हुन्छ,’ महामन्त्रीद्वयलाई उद्धृत गर्दै निकटस्थ एक नेताले भने, ‘तर, तपाईंहरूको नियत महाधिवेशनको प्रक्रिया सुरु गर्ने र चुनावपछि धकेल्ने देखिएको हुनाले हामी विशेष महाधिवेशनको एजेन्डामा प्रवेश गरेका हौँ । विश्वसनीय आधार दिन सक्नुभएन भने पुसभित्र विशेष महाधिवेशन निर्विकल्प हो ।’
छलफलबारे जानकार केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्रीद्वय थापा र शर्मा समूहले महाधिवेशन तालिका चाहेको होइन, महाधिवेशन चाहेको हो । ‘महाधिवेशन तालिका ल्याउने, तर महाधिवेशन हुने आशंकालाई चिर्ने गरी विश्वसनीय तरिकाले अघि बढौँ भन्ने हाम्रो भनाइ हो,’ सिवाकोटीले भने । पुस पहिलो सातासम्म वडा अधिवेशनको कार्यतालिका ल्याउने र त्यसअघि सदस्यताको विवाद समाधान गर्दै पुस अन्तिम सातामा महाधिवेशन गर्ने विश्वसनीय प्रतिबद्धता संस्थापन पक्षबाट आएमा विवाद समाधान हुने इतर पक्षको विश्वास छ ।
विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्ताव फिर्ता हुनुपर्ने सर्तका अलावा संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिमा संस्थापन पक्षका सदस्य थप्नुपर्ने, पार्टी सदस्यता छानबिन समितिमा संयोजक र बहुमत संख्या संस्थापनको हुनुपर्ने तथा निर्वाचन समितिमा संस्थापन पक्षको बहुमत हुने गरी मनोनीत गर्न तयार हुनुपर्ने सर्त राखेको असन्तुष्ट नेताहरूको भनाइ छ । पार्टीका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्कीलगायतले चुनावअघि महाधिवेशन नगर्न नेतृत्वमाथि दबाब बढाएको इतर पक्षको आरोप छ ।
संस्थापन पक्षनिकट केन्द्रीय सदस्य उदयशमशेर राणाले विशेष महाधिवेशनबाट पार्टीमा वैमनस्य उत्पन्न हुने तर्क गर्दै चुनावअघि नियमित अधिवेशन गर्नुपर्ने बताए । ‘अहिले विभाजित मानसिकतालाई बढावा दिने कार्य गर्नुहुँदैन,’ राणाले भने । उनले मंगलबार सभापति देउवासँग भेटेका थिए । उनीसहितका केन्द्रीय सदस्यले विशेष सभा हुनुअघि बुधबार विशेष महाधिवेशन अभियानका अभियन्ता गुरुराज घिमिरे, बलदेव तिमल्सिनालगायत नेतासँग भेटेर आक्रामक नबनिदिन अनुरोध गरेका थिए ।
देउवा पनि छलफलमा
महाधिवेशनको मिति विवाद मिलाउन सभापति देउवा केही दिनयता नेताहरूसँग छलफलमा सक्रिय छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गरेपछि उनीबारे इतर पक्षले प्रश्न उठाएको छ ।
देउवाले बुधबार पार्टी नेता डा.शेखर कोइराला तथा संस्थापन पक्षका केही केन्द्रीय सदस्यसँग निवासमा भेट गरेका छन् । देउवाले पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतसँग पनि छलफल गरेका छन् । सबै छलफलमा देउवाले चुनावअघि पार्टी र कार्यकर्ता विभाजित मनस्थितिमा हुन नहुने बताएका छन् ।
‘सभापतिज्यूले अभिभावकका रूपमा विवाद समाधानका लागि समन्वय गर्नुभएको मैले पाएँ, उहाँ पार्टी पंक्तिलाई एकताबद्ध बनाउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,’ उनीसँग भेटेका नेता राणाले नयाँ पत्रिकासँग भने, ‘सभापति पार्टीमा सक्रिय भूमिकामा आउनुभएको होइन, उहाँले अभिभावकीय भूमिका निर्वाह गर्नुभएको हो ।’
स्रोतका अनुसार कार्यवाहक सभापति खड्काले महाधिवेशनको विवाद मिलाउन नसकेपछि देउवा आफैँले मिलाउन खोजेका छन् । तर, छलफलमा उनले कार्यवाहक सभापति र लेखकलाई अघि सारेका छन् ।
कार्यवाहक सभापति खड्काले पार्टी विभाजित हुने प्रस्ताव आफूले अघि नबढाउने अडान राखेका छन् । ‘पार्टी विभाज हुने गरी जानुहुँदैन, मध्यमार्गी निकासको विकल्पमा छलफल गरेर निकास निकाल्न म तयार छु,’ खड्कालाई उद्धृत गर्दै उनीनिकट केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ पत्रिकासँग भने ।
खतिवडाले अहिलेको विवाद समाधानको उपायका रूपमा कार्यवाहक सभापति खड्का, महामन्त्री थापा र नेता डा. शेखर कोइरालामध्ये एकजनालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावको तयारीमा जानुपर्ने सुझाव दिए । ‘कार्यवाहक सभापतिलाई कमजोर पार्ने काम गर्नुहुँदैन, उहाँले सहमतिका लागि बैठक लम्ब्याउनुभएको यथार्थलाई आत्मसात् गरौँ,’ उनले भने ।
विशेष सभा : विशेष महाधिवेशनका लागि दबाब
बुधबार राष्ट्रिय सभामा आयोजित विशेष सभामा नेताहरूले पार्टीलाई रूपान्तरणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । पार्टी नेता गुरुराज घिमिरे, ओमकार श्रेष्ठ, शुक्रराज शर्मा, लक्ष्मी पाण्डे, किशोरदत्त बराल तथा विश्लेषक हरि शर्मालगायतले सम्बोधन गरेका थिए ।
‘विशेष सभा अलि लामो भएका कारण हामीले केन्द्रीय समिति बैठकअघि पार्टीमा थप दबाब दिने कार्यक्रम घोषणा गर्न पाएनौँ । अब बिहीबार हामी छलफल गरेर थप दबाब दिने कार्यक्रम तय गर्छौँ,’ विशेष महाधिवेशनका अभियन्ता युवा नेता बलदेव तिमल्सिनाले भने ।