महेश बस्नेत आउने भएपछि धनगढीमा जेन–जीको प्रदर्शन

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि धनगढीमा जेन–जीले प्रदर्शन सुरु गरेका छन् । जेन–जी युवाहरूले हातहातमा प्लेकार्ड लिएर धनगढी रंगशालाको उत्तरतिर मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा पोसाक लगाएका विद्यार्थीहरू पनि सहभागी छन् । महेश बस्नेतजस्ता अराजकता फैलाउने नेताहरू आउन नपाउन् भनेर प्रदर्शन गरिएको जेन–जी अगुवा विष्णु खड्काले बताए । ‘जे पायो त्यही बोलेर अराजकता फैलाउने, काटिदिन्छु, मारिदिन्छु भन्ने अराजकहरू आउन नपाउन् भनेर प्रदर्शन गरेका हौँ,’ खड्काले भने, ‘हाम्रो प्रदर्शन शान्तिपूर्ण हुनेछ ।’

अर्का जेन–जी युवा रमेशकुमार यादवले जेन–जी आन्दोलनको उपहास गर्ने नेताहरूलाई सतर्क गराउन आफूहरू फेरि सडकमा उत्रिएको बताए । उनले यति ठुलो बलिदानीको आन्दोलन हुँदा पनि देशमा केही पनि भएको छैन भन्ने हिसाबले आन्दोलनको उपेक्षा गर्ने काम महेश बस्नेतले गरेको आरोप लगाए । ‘देशमा अराजक फैलाउने जुनसुकै पार्टीका नेता यहाँ आउँदा प्रदर्शन गर्छौँ । केही नेताहरूमा देशमा केही पनि भएको छैन भन्ने देखियो । अराजक व्यक्तिहरू आएर जे पायो त्यही नभनून्,’ यादवले भने, ‘हामीले भ्रष्टाचार र देशमा शान्ति होस् भन्ने चाहेका हौँ ।’

प्रदर्शन स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । युवाहरूले विभिन्न नाराहरू लेखिएका प्लेकार्ड देखाएर प्रदर्शन गरिरहेका छन् । एमालेनिकट युवा संघको आयोजनामा धनगढीस्थित उद्योग वाणिज्य संघको हलमा आज हुन लागेको युवा जागरण अभियानमा सहभागी हुन बस्नेत काठमाडौंदेखि नियमित उडानबाट धनगढी आउँदै छन् । कार्यक्रममा सहभागी हुन युवा संघका अध्यक्ष क्षितिज थेबे पनि स्थलमार्गबाट धनगढी आउन लागेको बताइएको छ । 

See More On

सुझावित समाचार