पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा भाडा प्रकरणको विवाद अख्तियारहुँदै विशेष अदालत पुगेको छ । सरकारी/सामुदायिक विद्यालयको जग्गा र भवन कानुन विपरित निजी बोर्डिङ स्कूललाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।
आरोपपत्र दर्ता भएकाहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा–१ का वडा अध्यक्ष एवं पदेन सदस्य शाहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बरुणविक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाई रहेका छन् । यस्तै, अञ्जुली बोर्डिङ्ग स्कूल प्रालिका सञ्चालक राजु केसी, अञ्जुलीकी प्रिन्सिपल सुनिता कुँवर र अञ्जुली बोर्डिङ्ग स्कूल प्रालिविरुद्ध पनि आरोपपत्र दर्ता भएको छ ।
विद्यालयको नाममा पोखरा–१ स्थित कित्ता नं. ३४३ क्षेत्रफल ३७–८–०२ जग्गामा बनेका पूर्वाधारहरू नै प्रयोग प्रचलन गर्ने गरी कानुनी व्यवस्था विपरित निजी विद्यालय अञ्जुली आवासीय माध्यामिक विद्यालय (संस्थागत विद्यालय) लाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पोखरा–१ का वडा अध्यक्षसहित आठजना र अञ्जुली बोर्डिङ्ग स्कूल प्रालिलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा १५ लाख २९ हजार चार सय आठ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानासँगै सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको सजायसमेत मागदाबी अख्तियारले गरेको छ । आयोगले आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आरोपपत्रमा उनीहरू मध्ये बरुणविक्रम, नारायण र विष्णुमायालाई गलत प्रतिवेदन दिएको आरोपमा थप सजाय माग गरिएको छ । उनीहरू तीनजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा थप कैद र जरिवाना सजाय माग दाबी गरिएको छ ।
यस्तो छ घटना
विद्यालयको जग्गा भाडामा दिनको लागि २३ भदौ ०८० मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले स्थलगत निरीक्षण गरेर प्रतिवेदन पेश गर्न बरुणविक्रम राणाको संयोजकत्वमा विष्णुमाया लामिछाने र नारायणप्रसाद चापागाई सदस्यहरू रहने गरी समिति गठन गरेको थियो ।
उनीहरूले पूर्व योजना बमोजिम नै अञ्जुलीलाई विद्यालयको जग्गा/भवन भाडामा दिन ३० वर्षको करारनामा गरी दिन सिफारिस गरे गराएका थिए । सोही प्रतिवेदनलाई आधार मानि सरकारी सार्वजनिक सम्पत्ति निजी प्रयोगमा ल्याउने बदनियतले २६ फागुन ०८० मा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले सदस्य सचिव (प्रधानाध्यापक) को अनुपस्थितिमै बैठक बसी विद्यालयको पोखरा–१ स्थित कित्ता नं. ३४३ को जग्गामा बनेको सरकारी÷सार्वजनिक पूर्वाधारहरु नै प्रयोग प्रचलन गर्नेगरी करिब चार रोपनी भवन सहितको जग्गा अञ्जुलीलाई १२ वर्षको लागि भाडामा दिने निर्णय गरेका थिए । उक्त निर्णयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरू प्रधान, चापागाई, लामिछाने, भट्टराई, राणाले दस्तखत गरेका थिए ।
त्यसपछि विद्यालयका तर्फबाट अध्यक्ष राणा र अञ्जुलीका तर्फबाट सुनिता कुँवर केसीले २९ फागुन ०८० मा १ चैत ०८० देखि लागू हुने गरी १२ वर्षका लागि भवनसहितका संरचना निजी प्रयोग प्रचलनमा दिने लिने सम्झौता गरेका थिए ।
त्यसपछि पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, शिक्षा महाशाखाको प्रतिवेदन र पोखरा–१ का वडा अध्यक्षले २० साउन ०८२ मा विद्यालय व्यवस्थापन समितिलाई सम्बोधन गरी करार रद्द गर्न भनी पत्राचार गरेकोमा त्यसलाई बेवास्था गरेपछि यो विषय अख्तियार पुगेको थियो । अख्तियार पुगेको यो विषय छानबिनपछि विशेष अदालत पुगेको हो ।