बागमती नदी करिडोरलाई सफा र सुन्दर बनाउन ढल व्यवस्थापन तथा नदी सरसफाइ उच्च प्राथमिकतामा

शनिबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

ऊर्जामन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन् । मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका छन् ।

जम्बुडाँडा क्षेत्रमा ढल जाम हुँदा नदीमा मिसिएको छ । ढल मर्मत हुन नसक्दा त्यस क्षेत्रको सडक पनि बिग्रिएको छ । ढल तथा सडक मर्मतका लागि ठेक्का लगाइएको भएपनि काम सन्तोषजनक छैन । मन्त्री घिसिङले मर्मत कार्यको जानकारी लिंद एक महिनाभित्र सक्ने गरी जनशक्ति थप गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।

नदी सफा भएमा मात्र शहर सफा हुने भन्दै उनले बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर हटाउने काम उच्च प्राथमकितामा राखी सोही बमोजिम काम अगाडि बढाइएको बताउनुभयो । गुहेश्वरी–गोकर्ण खण्डका नदी करिडोरको किनारमा बेवारिसे अवस्थामा रहेका सवारी साधान हटाइएको छ ।

नदीमा फालिएको फोहोर र त्यहाँ रहेको लेदो  हटाउन सुरु गरिएको छ । सबै फोहोर हटाएर त्यस क्षेत्रमा रहेको चेक बाँधलाई सञ्चालनमा ल्याएर सानासाना तलाउ बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले उल्लेख गरे । हाल चेक बाँध बनाइएको तर नदीमा फोहोर र लेदो जम्मा हुँदा प्रयोगमा आउन सकिरहेको छैन ।

सुझावित समाचार