लुम्बिनीलाई रोक्ने योजनामा कर्णाली, काठमाडौंविरुद्ध विराटनगरलाई अवसर

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

लुम्बिनी लायन्सले जितका साथ सिजन सुरुवात गर्दा कर्णाली याक्सले हारबाट गर्यो । गत सिजन अंकतालिकाको पुछारमा रहेको लुम्बिनीले दोस्रो सिजनमा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । विदेशी तथा स्वदेशी खेलाडीमा राम्रो लगानी गरेको कर्णालीले ब्याटिङ र बलिङमा गतिलो प्रदर्शन गर्न सकेन । दोस्रो खेलमा कर्णाली जितका साथ अगाडि बढ्न चाहन्छ । लुम्बिनीलाई गत सिजनको हारको बदला लिने अवसर पनि छ । 

कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले लुम्बिनीविरुद्धको खेललाई महत्वपूर्ण मानेका छन् । लुम्बिनीले विश्वचर्चित वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक बनाएर त्यसको छनक एनपिएलमा देखाएको छ । लुम्बिनीले पहिलो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्यो । कर्णालीसँगको खेलमा यसको निरन्तरता हुने विश्वास टोलीको छ । कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीको शीर्ष र मध्यक्रम ब्याटिङ बलियो छ । 

काठमाडौंविरुद्ध विराटनगरलाई अवसर
गत सिजनमा विराटनगरमाथि काठमाडौंले रोमाञ्चक एक विकेटको जित निकालेको थियो । दोस्रो सिजनमा काठमाडौं र विराटनगरले टोली बलियो बनाउन अक्सन र विदेशी खेलाडीमा राम्रो लगानी गरेका छन् । यद्यपि, लगानीअनुसार काठमाडौं टोलीले सोचेजस्तो नतिजा निकाल्न सकेन । कर्णालीले पहिलो खेलमा कीर्तिमान योगफल बनाउँदै पोखरालाई सहजै हरायो । 

काठमाडौंले साबिक विजेता जनकपुर बोल्ट्समाथि जित निकाल्दै उत्कृष्ट सुरुवात गर्यो । तर, दोस्रो खेलमा ब्याटिङ नचल्दा काठमाडौंको हार भयो । काठमाडौंका प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरू जिम्मेवार नहुँदा नै हार भएको मान्छन् । उनले कर्णालीसँगको प्रतिस्पर्धामा यस्तो नहुने बताएका छन् । अर्कोतिर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले विदेशी खेलाडीमाथि धेरै खर्च गर्यो । यसको प्रतिफल पहिलो खेलमा देखियो । 

जर्ज मुन्सी, मार्चेन्ट डे लागें, सनी पटेल तथा साम हेजाल्टजस्ता खेलाडीको साथ पाएको विराटनगरको दोस्रो खेलमा पनि आत्मविश्वास देखिन्छ । काठमाडौंले भने दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध उत्कृष्ट बलिङ गरे पनि ब्याटिङमा गतिलो प्रदर्शन गर्न सकेन । अलराउन्डरले भरिएको काठमाडौंले मध्यक्रम सुधार गर्नुपर्ने देखिन्छ । कप्तान करण केसी उत्कृष्ट फर्ममा रहँदा काठमाडौंको बलिङ पक्ष बलियो देखिन्छ । अघिल्लो खेलमा उनले चार विकेट लिँदै विपक्षी ब्याट्सम्यानलाई सचेत गराएका छन् ।

प्लेयर्स टु वाच
गुल्सन झा (कर्णाली)

लुम्बिनीसँग प्रतिस्पर्धा गर्दा कर्णालीले फास्ट बलर गुल्सनबाट स्तरीय बलिङको अपेक्षा राखेको पक्कै हुनुपर्छ । पहिलो खेलमा चितवनविरुद्ध विकेटविहीन भएका गुल्सन फर्ममा आउँदा विपक्षी ब्याट्सम्यान दबाबमा आउने गर्छन् । राष्ट्रिय क्रिकेट टोलीका अनुभवी बलर बनिसकेका उनले आइसिसी विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध तीन खेलमा एक विकेट लिए पनि कसिलो बलिङ गरेका थिए । कर्णालीका भरपर्दा गुल्सनले पुछारमा ब्याटिङ गर्दा स्ट्रोक लगाउने प्रयास गर्छन् । कतिपय अवस्थामा उनी सफल हुन्छन् पनि । चितवनसँगको खेल गुमाएको कर्णालीले लुम्बिनीलाई रोक्न बलिङ पक्ष राम्रो हुनुपर्छ । यसमा अनुभवी बलरहरूको भूमिका महत्वपूर्ण मानिन्छ । यसै भूमिकामा गुल्सनले आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ ।

सन्दीप जोरा (लुम्बिनी)
हङकङ सुपर सिक्सेजदेखि सन्दीप उत्कृष्ट फर्ममा छन् । यस सिजनको हङकङ सिक्सेजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान नै उनी बनेका थिए । स्ट्रोक प्लेमा माहिर सन्दीपले पहिलो खेलमा चितवनविरुद्ध आवश्यकताअनुसार रन बटुले । उनले २८ रनको योगदान दिएका थिए । कर्णालीको बलियो बलिङ आक्रमणविरुद्ध उनी लुम्बिनीका लागि प्रभावशाली हुन सक्छन् । नेपालको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० आईमा डेब्यु गरिसकेका सन्दीपको स्ट्राइकर निकै राम्रो छ । उनले ३८ टी–२० आईमा १२०.१४ को स्ट्राइकमा ब्याटिङ गर्न रुचाउँछन् । टी–२० आईमा उनले चार अर्धशतकको सहयोगमा चार सय ८९ रन बनाएका छन् । सन्दीप फेरि एकपटक लुम्बिनीको माथिल्लो क्रममा उत्कृष्ट योगदान दिन चाहन्छन् ।

सन्दीप लामिछाने (विराटनगर)
विराटनगरले आफ्नो पहिलो खेलमा विराटनगरमाथि जित निकाल्दा कप्तान सन्दीपको योगदान अहम् रह्यो । उनले एकै ओभरमा पोखराका दुई विकेट लिँदा विराटनगर खेलमा फर्किएको हो । एनपिएलमा विराटनगरले सानदार सुरुवात गरिसक्यो । अब यसको निरन्तरता दिलाउन कप्तान सन्दीपकै काँधमा बलिङ एट्याक्ट छ । त्रिवि क्रिकेट मैदानको पिचमा राम्रोसँग भिजेका उनले ड्यु फ्याक्टरमा उत्कृष्ट स्पिन गर्न सक्छन् । विराटनगरका स्वदेशी खेलाडीमध्ये सन्दीप डे–नाइट प्रतिस्पर्धामा सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् । काठमाडौंको बलियो ब्याटिङ लाइनअपविरुद्ध उनले पावर प्लेपछि आफूलाई प्रयोग गर्न सक्छन् । यसमा काठमाडौंका ब्याट्सम्यान निकै सजक भएर प्रतिस्पर्धा गर्नुपर्छ । सन्दीप पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा छन् ।

करण केसी (काठमाडौं)
काठमाडौंले सबैभन्दा विश्वास गरेका खेलाडी कप्तान तथा फास्ट बलर करण केसी हुन् । ब्याटिङमा एकरूपता प्रदर्शन गर्न नसकेको काठमाडौंले विराटनगरसँग प्रतिस्पर्धा गरिरहँदा करणबाटै धेरै आशा गरेको छ । सुदूरपश्चिमविरुद्ध चार विकेट लिएका करणले आफूलाई फिट बनाएका छन् । विशेषत: पावर प्ले तथा अन्तिम पाँच ओभरमा उनको बलिङ सटीक देखिन्छ । यसवेला विपक्षी ब्याट्सम्यानले सानो गल्ती गर्दा विकेट गुमाउँछन् । करणले विपक्षी ब्याट्सम्यानको मनोविज्ञानअनुसार बलिङ गर्छन् । ब्याटिङमा पनि आक्रामक खेल प्रस्तुत गर्ने भएकाले काठमाडौंलाई फाइदा नै छ । विराटनगरले करणको बलिङ र आक्रामक ब्याटिङ रोक्न विशेष योजना बनाउनुपर्छ । 

See More On

सुझावित समाचार