विश्व खोज पत्रकारिता सम्मेलन (ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिज्म कन्फरेन्स) २०२५ मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ । मलेसियाको क्वालालम्पुरको कन्भेन्सन सेन्ट्रल हलमा जारी सम्मेलन नोबेल शान्ति पुरस्कार प्राप्त मारिया रेस्साले पत्रकारितामा चुनौतीसँगै अवसर रहेको भन्दै प्रविधिको विकासले थपिएको जोखिमबारे आफ्नो अनुभव सेयर गरेकी छिन् ।
यस्तै सम्मेलनमा एसियाका विभिन्न देशमा सत्ताले कसरी भ्रष्टाचार र नागरिकलाई असुविधा पुर्याउने गरेको छ भन्ने विषयमा चर्चा गरिएको छ । सम्मेलनमा विश्वभर मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । पत्रकारिता अपराध होइन नारासँगै सन् १९९२ देखि नोभेम्बर २०२५ सम्म विश्वभर आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारहरूको सम्मानमा श्रद्धाञ्जली व्यक्त गरिएको हो । सन् १९९२ देखि नोभेम्बर २०२५ करिब दुई हजार ५४० पत्रकार र मिडियाकर्मीको हत्या भएको सम्मेलन छ।
सम्मेलनमा नेपालसहित विश्वभरका एक सयभन्दा बढी देशका एक हजार पाँच सयभन्दा बढी पत्रकार पाँच दिनसम्म सिकाइ, अनुभव आदानप्रदान र सहकार्यका लागि भेला भएका छन् । सम्मेलनमा विभिन्न देशका तीन सयभन्दा वढी वक्ताले आफ्ना भनाइ राख्ने कार्यक्रम रहेको छ । सम्मेलनमा एक सयभन्दा बढी शत्रहरू हुँदै छन् । सत्रहरू आगामी मंसिर ८ गतेसम्म चल्ने र खोज पत्रकारिताको विविध पक्षबारे छलफल र अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको जिआइजेएनको सदस्य रहेको खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपालले बताए।