गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन गर्न माग

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ६ सय शय्याको अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न स्थानीयले माग गरेका छन् ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार समितिले काठमाडौंमा शिक्षामन्त्री महावीर पुनलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै अस्पताल सञ्चालन र चिकित्सा शिक्षाको पठनपाठन यसै वर्ष सुरु गर्न माग गरेको हो ।

त्यस्तै, विश्वविद्यालय ऐनअन्तर्गत बाँकी रहेका विश्वविद्यालय सभा सदस्य नियुक्त गरी सभालाई पूर्णता दिन समितिले माग गरेको छ । समितिका संयोजक लोकराज पाण्डेयका अनुसार मन्त्री पुनले यसै वर्ष पूर्ण क्षमताको अस्पताल सञ्चालनसहित चिकित्सा शिक्षाको पठनपाठन सुरु बताएका थिए ।

शिक्षामन्त्री विश्वविद्यालयको सहकुलपति रहने व्यवस्था छ । मन्त्री पुनको अध्यक्षतामा हालै बसेको विश्वविद्यालय सभाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

समितिले दुवै पदमा आवेदन खुला गरिसकेको छ । संयोजक पाण्डेयले विश्वविद्यालयका पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भइसकेकाले अब अस्पताल र शैक्षिक कार्यक्रम अगाडि बढाउन मन्त्रालयमै पुगेर मन्त्रीको ध्यानाकर्षण गराइएको बताए । सरकारले गेटामा मेडिकल कलेजका नाममा करिब पौने सात अर्ब लागतका भौतिक संरचना निर्माण गरेको छ । 

सुझावित समाचार