पाँच घण्टापछि खुल्यो वीरगन्ज–पथलैया अवरुद्ध सडक

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको सिमरा क्षेत्रमा बुधबार एमालेका कार्यकर्ता र जेन–जी समूहबिच भएको झडपपछि बन्द रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडक सञ्चालनमा आएको छ । प्रशासनको कर्फ्यु आदेश जारी गरे पनि जेन–जी समूहले करिब पाँच घण्टासम्म उक्त करिडोर अवरुद्ध पारेका थिए।

बुधबार बिहानदेखि सुरु भएको प्रदर्शन क्रमशः चर्किंदै गएपछि स्वागत द्वार भत्काउने, सडकमा अवरोध सिर्जना गर्ने र दुवै पक्षबिच झडपजस्ता घटना भएका थिए। साँझ करिब ५ः५० बजे प्रहरीले प्रदर्शनकारीलाई सम्झाई–बुझाई बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

स्थिति बिग्रँदै गएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पथलैयादेखि परवानीपुरसम्म बुधबार दिउँसो १२ः३० बजेबाट राति ८ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेका थिए। प्रशासनका अनुसार कर्फ्यु जारी गर्नुको उद्देश्य तनाव नियन्त्रण, सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु र सम्भावित हिंसा रोक्नु रहेको हो।

प्रदर्शनका कारण सिमरा विमानस्थलसमेत बन्द गरिएको थियो। त्यस्तै, सिमरा चोक, पथलैया तथा परवानीपुर क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको र प्रहरीले निरन्तर निगरानी तथा तैनाथी गरेको थियो। 

स्थानीय प्रशासनका अनुसार कर्फ्युले स्थिति नियन्त्रणमा लिन मद्दत पुगेको छ। हाल अवस्था सामान्य बन्दै गएको र वातावरण पूर्ण रूपमा शान्त भइसकेको जनाइएको छ।

सुझावित समाचार